युवाको जोशको सदुपयोग

युवालाई आजकल देशको वर्तमान भनिन्छ । नयाँ जोश, जाँगर अनि केही गर्ने इच्छाशक्ति भएको जमातलाई युवा भनेर बुझिन्छ । कतिपयले नयाँ सोचलाई पनि युवापनको संज्ञा दिने गर्दछन् । नेपालमा यो वर्गको संख्या ठूलो छ । कुनै पनि मूलुकको विकासमा युवा जनसंख्याको बाहुल्यतालाई सकारात्मक मानिन्छ । तर नेपालमा जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवाबाट मूलुकले लाभ लिन सकिरहेको छैन । युवालाई उत्प्रेरणा दिने काममा राजनीतिज्ञ र सरकारको भूमिकामा रहेका दलहरु चुकेको महसुस भएको छ । युवालाई आर्थिक उपार्जनमा प्रोत्साहन र सकारात्मक उर्जा दिने काम राज्य तहबाट हुनुपर्ने हो । तर त्यसतर्फ निकै कम मात्र काम भएको छ । सायद त्यसैका कारण पनि हुन सक्छ युवाको ठूलो संख्या विदेशिएको छ । दैनिक विदेशिने गरेको छ । युवामा नयाँ काम गर्ने जोश र जाँगर उनीहरु भन्दा कम उमेरका वा माथिल्ला उमेरकाभन्दा बढी हुन्छ । उनीहरुलाई जिम्मेवारी र प्रोत्साहनको खाँचो छ । समृद्धिको बाटोमा मूलुकलाई लग्नका लागि राज्यले समयमै सोच्नु जरुरी छ ।