अत्रौली सिञ्चाइको मर्मतका लागि २० करोड

दमौली। ठाउँ ठाउँमा पहिरो खसेका कारण करिब दुई वर्ष अवरुद्ध भएको तनहुँको गजरकोटस्थित अत्रौली–पुट्टार सिञ्चाइ आयोजनाको २० करोडमा दीर्घकालिन मर्मत थालिने भएको छ । एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त पहलमा मर्मत हुने आयोजनाका लागि स्थानीय उपभोक्ताले पनि जनश्रमदान गर्नेछन् ।
 
२०५२ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको आयोजनाले गजरकोटका अत्रौली–पुट्टार क्षेत्रको करिब पाँच सय हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा प्रदान गर्दै आएको थियो । तर २०७० सालयता पहिरोका कारण नहरमा अवरोध आएर पानी आपूर्ति हुन नसकेपछि धेरै जमिन बाँझो पल्टेको थियो । गत वर्ष र चालु आर्थिक वर्षमा गरी करिब २१ लाख लागतमा मर्मतपश्चात साउनयता १३ किलोमिटर क्षेत्रमा पानी पुगे पनि नहर जीर्ण बनेकाले दीर्घकालिन मर्मतका लागि आयोजना सञ्चालन गर्न लागिएको पश्चिमाञ्चल सिञ्चाई डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेलले बताए ।
 
आयोजनाका लागि कुल लागतको ७६ प्रतिशत एसियाली विकास बैंक, २३ प्रतिशत नेपाल सरकार तथा तीन प्रतिशत लागत उपभोक्ताले बेहोर्नेछन् । आयोजना सञ्चालनका लागि उपभोक्तासंग सहमतिको प्रक्रिया सकिए पछि यसै आर्थिक वर्षबाट मर्मतको काम शुरु हुने पौडेलले जानकारी दिए । काम थालेको तीन वर्षमा मर्मत सक्ने लक्ष्य लिइएको छ ।
 
एसियाली विकास बैंकका प्रतिनिधि दीपकबहादुर सिंह, सिञ्चाई प्रमुख हरिदत्त पौडेल लगायतको टोलीले मर्मत प्रक्रिया र स्थानीयको सहयोगबारे राय संकलन गरेका थिए ।
 
जिल्लाकै ठूलोमध्येको एक अत्रौली–पुट्टार फाँटमा सिञ्चाइका लागि सञ्चालित आयोजना पूर्ण क्षमतामा आए पछि सिञ्चाइमा देखिएको समस्या समाधान हुने ठानिएको छ ।