महर्षि वेदव्यास संस्कृतको वार्षिकोत्सव

दमौली । महर्षि वेदव्यास संस्कृत मावि दमौलीको २५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले विद्यालय जिल्लाकै गौरव भएको बताए । संस्कृति, भाषा, धर्म, कला र साहित्यका लागि संस्कृतको भूमिका महत्वपूर्ण हुने भन्दै उनले विद्यालयकै सक्रियतामा संस्कृतमा उच्च शिक्षाको शुरुवात हुनु सराहनीय भएको उल्लेख गरे ।
उनले संस्कृतमा शास्त्री तहको पठनपाठन शुरु हुन लागेको भन्दै यसका लागि सघाउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार एवं व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, श्रोतव्यक्ति नारायणदत्त पौडेल, व्यास क्षेत्र विकास कोषका संरक्षक काशीनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य शशि आचार्य, हेमकान्त लम्साल, लक्ष्मी कुमाल, कविता थापालगायतले विद्यालयको शिक्षाका बारेमा बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक तुलसीशरण सिग्देलले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा संस्कृत भाषण, नेपालीमा नीति विषयक प्रवचन, रुद्राभिषेक प्रतियोगिता, प्रहसन आदि प्रस्तुत गरिएको शिक्षिका  कमला काफ्लेले जानकारी दिइन् । विद्यालयमा हाल संस्कृतमा उच्च शिक्षाका साथै विद्यालय परिषरमै संस्कृत विद्यापीठसमेत स्थापना गरिएको छ ।