‘आचारसंहिता उल्लंघनकर्तामाथि जनताको कारबाही’

दमौली । तनहुँका राजनीतिक दलहरुले एक अर्काप्रति चुनावी आचारसंहिताको पालना नगरेको आरोप लगाएका छन् । दलहरुले सरकारी श्रोत साधनको प्रयोग गरेको तथा चुनावकेन्द्रीत गरी विकास तथा विकासे आश्वासन बाँडेको आरोप लगाए । कर्मचारी व्यवस्थापन अपारदर्शी भएकोप्रति समेत केही दलले असन्तुष्टि जनाएका छन् ।
चुनावी तयारीबारे जानकारी लिनका लागि आएका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल नेतृत्वको टोलीसँगको अन्र्तक्रियामा कांग्रेक्ष्स सभापति बैकुण्ठ न्यौपाने, एमाले नेता प्रदीप अधिकारी, माओवादी  नेता अतिन्द्रकेशरी न्यौपानेलगायतले बोलेका थिए ।
प्रतिउत्तरमा निर्वाचन आयुक्त पौडेलले आचारसंहिताको पालन नगर्नेलाई जनताले कारबाही गर्ने बताए । उनले मतदाता शिक्षा दिने काम आयोगको मात्र नभै दलको पनि भएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासकले यस क्षेत्रको सुरक्षा अवस्था मजबुत भएकाले ढुक्क भएर चुनावमा लाग्न दलहरुसँग आग्रह गरे ।
उनले नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरीका सुरक्षाकर्मी सक्रियताका साथ लागेकाले सुरक्षा अवस्थाप्रति शंका नगर्नं आग्रह गरे ।
टोलीले निर्वाचन आचारसंहिता उल्लंघनको अवस्थाबारे तथ्यांकसमेत संकलन गरेको थियो । टोली हेलिकोप्टरमा सवार हुँदै दमौली आएको थियो ।