बन्दीपुर मुच्चुकमा खानेपानी आयोजना शिलान्यास

बन्दीपुर । बन्दीपुर २ मुच्चुक केउरानी खानेपानी आयोजनाको शिलान्यास भएको 
छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मुच्चुकवासीको सुविधाका लागि आयोजनाको शुरुवात गरिएको हो ।
 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख चक्रपाणी आचार्यले आयोजनाको शिलान्यास गर्दै मुच्चुकमा घण्टौं समय लगाएर पानी लिन जानु पर्ने अवस्था अन्त्य हुने बताए । यसै आर्थिक वर्षभित्र नै आयोजनाको काम शुरु हुने बताए ।
 
हाल तीन लाख रुपैयाँमा काम थालिए पनि आयोजनाको पुरा काम सम्पन्न गर्न ६४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि आवश्यक थप बजेट थप गरिने आचार्यले आश्वासन दिएका छन् ।
 
आयोजना उपभोक्ता समितिका अध्यक्ष शुकुमलाल गुरुङले धेरै दुःखका साथ आयोजना आएको भन्दै चालु आर्थिक वर्षभित्र नै आयोजना सकेर पानी पु¥याउने लक्ष्य राखिएको बताए ।
 
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य परमेश्वर भट्टराई, पूर्व जिल्ला सचिव विश्व न्यौपाने, संयुक्त मगर समाज व्यास ४ का कमल राना, वैदिक पूरोहित समाजका जिल्ला सचिव विजयराज भट्टराई, खहरे खानेपानीका अध्यक्ष खुमबहादुर कुँवर, स्टार बोर्डिङका प्रिन्सिपल सूर्य गुरुङ, मुच्चुक आमा समूहकी अध्यक्ष शोभा गुरुङ, ज्येष्ठ नागरिक सन्तुमाया गुरुङ, खानेपानी प्राविधिक केदार पन्त लगायतले आयोजनाले लामो समयदेखिको पानीको समस्या समाधान गर्न लागेको भन्दै खुशी प्रकट गरे ।
 
करिब १८ घर धुरी रहेको मुच्चुकमा खानेपानीका लागि स्थानीयले लामो समयदेखी एक घण्टा जति हिंड्नुपर्ने बाध्यता रहेको छ ।