“चुनाव प्रभावित गर्ने गरी विकास”

दमौली । प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनको मुखैमा स्थानीय सरकारहरुले चुनाव प्रभावित पार्ने गरी विकास निर्माण अघि बढाएको भन्दै दलहरुले एक अर्काविरुद्ध उजुरीको चाङ लागेको छ । नेपाली कांग्रेसनिकट जनप्रतिनिधिहरुले व्यास, भानु तथा ऋषिङमा डोजर प्रयोग गर्दै मतदाता आकर्षित गरेको उजुरी वाम गठबन्धनले दिएको छ । उता, कांग्रेसले पनि भीमाद, घिरिङलगायतका स्थानीय तहमा आफूअनुकुल विकास प्रयोग गर्दै चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै वाम गठबन्धनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । मतदातालाई बाटो पु¥याउने तथा विकासका काम गरेर चुनावी हिसाबले प्रभावित गरेको भनेर दलहरुले एक अर्काविरुद्ध उजुरी दिए पछि काम रोक्न लगाइएको जिल्ला प्रशासनका प्रशासकिय अधिकृत सुरेश ढकालले बताए । ‘दुवै पक्षबाट आचारसंहिता उल्लंघन गरेर विकास निर्माणको काम गरेको उजुरी परेको छ,’ उनले भने,‘हामीले आचारसंहिताको उल्लंघन गर्ने काम रोकेका छौं ।’
वाम गठबन्धनले घिरिङमा वडा कार्यालयमा कार्यालय राखेको उजुरी दिए पछि प्रशासनले हटाउन लगाएको छ । यता, दमौली बजारमा नेपाली कांग्रेसले राखेका तुल ब्यानरसमेत एमालेको उजुरीपछि हटाइएको प्रशासकिय अधिकृत ढकालले बताए । चुनावमा बालबालिकाको प्रयोग गरिएको, सार्वजनिक स्थानमा चुनावी तुल ब्यानर टाँगेको लगायतका विषयमा समेत दलहरुले एक अर्काविरुद्ध उजुरी दिएका छन् ।  आचारसंहिता उल्लंघनका घटनामा दलका प्रमुखहरुलाई पटक पटक बोलाएर सचेत बनाउने काम गरिएको ढकालले बताए । दलहरुले प्रतिबद्धता जनाए पनि पटक पटक पालना नगरेकाले आफूहरुले हस्तक्षेप गरेको ढकालले बताए ।
सहरी क्षेत्रमा लाउडस्पिकर
सहरी क्षेत्रमा सबैजसो राजनीतिक दलले लाउडस्पिकरमार्फत चुनावी प्रचार गरेका छन् । लाउडस्पिकरमार्फत चुनावी प्रचार गर्न नपाइने भए पनि दलहरुले सदरमुकाम दमौली बजारसहितका सहरी क्षेत्रहरुमा चर्को स्वरमा लाउडस्पिकरमार्फत चुनावी प्रचार सामग्रीहरु बजाईरहेका छन् । निर्वाचन आयोगले लाउडस्पिकरमार्फत प्रचार गर्न नपाइने बताए पनि मुख्य सहरी क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ठूला दल तथा अधिक संख्यामा नयाँ शक्ति, साझा पार्टी, बीपी कांग्रेसलगायतका दलले चुनावी प्रचार गरिरहेका छन् ।