कांग्रेसले शक्ति प्रदर्शन गर्ने

दमौली । चुनावी मौन अवधि शुरु हुन केही समय मात्र बाँकी रहँदा नेपाली कांग्रेसले सोमबार दमौलीमा शक्ति प्रदर्शन गर्ने भएको छ । जिल्लाभरका सबै प्रतिनिधि तथा प्रदेस सभा निर्वाचन क्षेत्रका मतदातका लागि लक्षित गर्दै कांग्रेसले दमौलीमा वृहत आम सभा गर्न लागेको हो । 
सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित जिल्लाका शीर्ष नेताहरुले सम्बोधन गर्ने पार्टी जिल्ला सचिव विश्व बाँस्तोलाले बताए । यसअघि नेकपा एमालेले पनि सभा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दमौली उतारेको थियो । कांग्रेसले यसअघि नै पार्टी सभापति शेरबहादुर देउवालाई तनहुँ भित्र्याइसकेको छ ।
सभामा तनहुँमा रहेका केन्द्रीय नेताहरुसहित पार्टीका प्रवक्ता गगन थापा, हालै पार्टी प्रवेश गरेका चौधरी ग्रुपका सञ्चालक विनोद चौधरीलगायतका केन्द्रीय नेताहरु सम्बोधनका लागि आउने बाँस्तोलाले बताए । दमौली अनशन चौतारामा मध्याह्न शुरु हुने सभा साँझ करिब ४ बजेसम्म चल्नेछ । जिल्लाभरका विभिन्न भागबाट झण्डै १५ हजार कार्यकर्ता उतार्ने कांग्रेसको तयारी छ । चुनावअघिको यो सभालाई शक्ति प्रदर्शनका रुपमा समेत हेरिएको छ । सभामा जिल्लाका सबै प्रतिनिधि सभा तथा प्रदेस सभा क्षेत्रका उम्मेदवारहरु सहभागी हुनेछन् ।
यसैगरी चर्चित राष्ट्रिय लोक दोहोरी कलाकार चोलेन्द्र पौडेलका साथमा राष्ट्रिय कलाकारको समूहले कार्यक्रममा सांगितिक तथा सांस्कृतिक प्रस्तुती राख्ने नेपाली कांग्रेसले जनाएको छ ।