चार थान पेस्तोलसहित तीन युवा पक्राउ

दमौली । तनहुँ प्रहरीले चार थान नाइन एम एम पेस्तोल र ठूलो परिमाणमा गोलीगठ्ठासहित तीन युवक पक्रेको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले आँबु गाउँपालिका ३ स्थित २८ वर्षका अभियान श्रेष्ठको घरमा छापा मार्दा अमेरिकामा निर्मित चार थान नाईन एम एम पेस्तोल, त्यसमा प्रयोग हुने ३९ थान गोली गठ्ठा तथा पाँच थान म्यागेजिनका साथमा घरधनी श्रेष्ठसहित अन्य दुई युवालाई पक्रेको हो । चारवटै पेस्तोलमा गोली लोड गरेको अवस्थामा भेटिएको थियो । 
पक्राउ पर्नेहरुमा २६ वर्षका विजय र २४ वर्षका जय गुरुङसमेत छन् । विहानै मारिएको छापाका क्रममा हातहतियार र गोलीगठ्ठा बरामद भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले 
बताए । उनले युवाहरुको आवद्धताका विषयमा अनुसन्धान भैरहेको बताए । 
तीन घण्टाको अपरेशन
हातहतियारसहित गतिविधि भैरहेको सूचना प्रहरीले पाए पछि आईतबार रातीदेखि प्रहरीले निगरानी थालेको थियो । घरको पहिचान र युवाहरु रहेको निक्र्यौलपछि प्रहरीले  नेपाली सेनाको कृष्ण दल गण र सशस्त्र प्रहरी बल मनकामना गणको ब्याकअपमा सोमबार विहान करिब ५ बजेबाट अपरेशन थालेको थियो । युवाहरुका साथबाट हात हतियार र गोलीगठ्ठा बरामद गरेर अपरेशन सक्दा विहानको करिब ८ बजेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक गुरुङले बताए । अपरेशनका क्रममा गोलि लोड गरेर बसेका युवाहरुबाट कुनै अवरोध भने नभएको उनले बताए । प्रहरीले युवाहरुको दलिय आवद्धता वा आपराधिक गतिविधि के हो भनेर खुलाएको छैन । यसबारेमा अनुसन्धान भैरहेको निरीक्षक गुरुङले बताए । तनहुँ र गोरखा तथा चितवनको केही भागका लागि व्यापारिक केन्द्रका रुपमा रहेको आँबुखैरेनी बजारमा ठूलो परिमाणमा हात हतियार बरामद हुनुको सम्बन्ध चुनाव बिथोल्ने गतिविधिसँग हुनसक्ने आशंका गरिएको छ । नियन्त्रणमा लिएका सबैमाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान थाल्ने तयारी गरेको छ । 
प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले चुनावलक्षित गरी सुरक्षा सतर्कता बढाउने क्रममा अपरेशन भएको बताए । उनले चुनावको सुरक्षाका लागि संकास्पद ठाउँमा निगरानी बढाइरहेको बताए । 
यसअघि तनहुँका विभिन्न भागमा चुनावका क्रममा श्रृंखलाबद्ध बम विष्फोटनका घटना घटेका थिए । तर घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।