मौन अवधि र चुनावी आचारसंहिता

सोमबार रातीबाट दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मौन अवधि शुरु भएको छ । मौन अवधिका क्रममा चुनावी प्रचार प्रसार गर्न नपाइने नियम छ । तर यसै अवधिलाई सर्वाधिक चलखेलको समयका रुपमा लिइने गरिएको छ । आफ्नो प्रचारले काम नगरेका क्षेत्रमा शक्ति प्रयोग गर्ने समयका रुपमा लिइने मौन अवधिमा सर्वाधिक निर्वाचन आचारसंहिता उल्लंघनका घटना हुने गरेका छन् । यसै अवधिमा आर्थिक चलखेल हुने गरेका चर्चा चल्ने गरेको छ । जुनसुकै दल वा आस्थामा आबद्ध उम्मेदवारले अर्काका मतदातालाई आफ्नो पक्षमा पार्नका लागि अत्यधिक सक्रियता देखाउने अवधि भएकाले विचार, सिद्धान्त र कार्यक्रम भन्दा पनि पैसा र शक्तिको प्रयोग गरेर मतदाता आकर्षित गर्ने अवधिका रुपमा यो अवधि चिनिने गरेको छ । 
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनका माध्यमबाट सीमित अवधिका लागि आफ्ना प्रतिनिधि छान्ने अवसर मतदाताले पाउने गर्दछन् । लोकतन्त्रमा आफूलाई मन परेको विचार, आस्था वा कार्यक्रमप्रति सहमति वा विरोध जनाउन र मन परेकालाई मतदान गरेर योग्य बनाउन छुट छ । कसैको करकाप वा बलमिच्याइंमा नपरीकन स्वविवेक प्रयोग गरेर योग्य व्यक्ति छान्ने प्रक्रियामा सचेत मतदाताले कुनै प्रभावलाई निस्तेज पार्नु जरुरी छ । आफूलाई योग्य लाग्ने जोसुकैलाई चुन्न मतदाता स्वतन्त्र छन् । र उनीहरुले दिने मत नितान्त गोप्य रहन्छ । यसर्थ कुनै शक्ति वा पैसाको बलमा कसैले पनि स्वाभिमान बेच्नु पर्दैन । यस कुरालाई सचेत मतदाताले ध्यान दिने हो र सोहीअनुसार आफू चल्ने हो भने जतिसुकै चलखेल जोसुकैबाट भए पनि मतदाताले चाहेको व्यक्ति चुनिनबाट कसैले रोक्न सक्ने छैन ।