मतदाता परिचय पत्र वितरण शुरु

दमौली । जिल्ला निर्वाचन कार्यालयले मंसीर २१ गते तोकिएको प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदातालाई परिचय पत्र वितरण थालेका छन् । जिल्लाभर तोकिएका दुई सय ६५ मतदान केन्दमार्फत नै मंगलबारबाट परिचय पत्र वितरण थालिएको जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए । उनले यो क्रम बुधबारसम्म चल्ने बताए । ‘सबैजसो ठाउँमा परिचय पत्र वितरण शुरु भएको छ,’ उनले भने,‘कतै समस्या भएको खबर छैन ।’
यसपल्ट थपिएका मतदातालाई परिचय पत्र वितरण गरिएको छ । यसअघिको स्थानीय चुनावमा मतदाता परिचय पत्र नपाएका र पछि उमेर पुगेकाहरुले यसपल्ट परिचय पत्र पाएका छन् । बाँकीले पहिलेको परिचय पत्रका अपाधारमा मतदान गर्न पाउने प्रबन्ध गरिएको छ । यदि पुरानो परिचय पत्र नभएमा मतदाता नामावलीमा नाम भएकाहरुले नागरिकता प्रयोग गरेर समेत मतदान गर्न पाउने निर्वाचन अधिकारी घिमिरेले बताए ।
जिल्लाका सबैजसो मतदान केन्द्रमा कर्मचारी र आवश्यक बन्दोबस्ती भैसकेको घिमिरेले बताए । जिल्लाभर तीन हजार १ सय ७६ कर्मचारी चुनावका लागि खटिएका छन् ।
प्रचार सामग्री हटाइयो
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दमौलीमा टाँगिएका नेपाली कांग्रेसका चुनावी प्रचार सामग्री हटाएको छ । दमौलीमा नेपाली कांग्रेसको सोमबारको सभाका क्रममा बजारभर टाँगिएका झण्डा र प्रचार सामग्री हटाइएको आचारसंहिता अनुगमन अधिकृत सुरेश ढकालले जानकारी दिए । वाम गठबन्धनका तर्फबाट उजुरी आए पछि विहानै सुरक्षाकर्मीसहितको टोलीले प्रचार सामग्री हटाएको थियो ।
मौन अवधिमा उजुरी कम
मौन अवधिका क्रममा चुनावी आचारसंहिता उल्लंघनका उजुरी खासै नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिताविपरितका गतिवधि बढी हुने ठानिने भए पनि यसबीचमा उजुरी नआएको आचारसंहिता अनुगमन अधिकृत ढकालले बताए । वाम गठबन्धनका तर्फबाट बानियाँटारमा राँगो काटेर भोज खुवाएको उजुरी आए पछि अनुगमनका लागि गएको टोली प्रमाण नभेटेपछि फर्किएको ढकालले बताए ।