मौन अवधिमा आन्तरिक रणनीति

दमौली । चुनावको मौन अवधि शुरु भएसँगै दल तथा उम्मेदवारहरु आन्तरिक चुनावी रणनीति बनाउनामा व्यस्त देखिएका छन् । मतदानको मितिको ४८ घण्टा पहिलेबाट चुनावी कार्यक्रम तथा प्रचार गर्न नपाइने नियम निर्वाचन आयोगले बनाएपछि उम्मेदवारहरु चुनावी ब्यानर र तुल लिएर प्रचारमा हिंडेका छैनन् । तर बिना व्यानर भए पनि सबैजसो उम्मेदवारहरु मतदातामाझ भेटघाटका लागि हिंडेका छन् ।
यसबाहेक मुख्य र अन्तिम चुनावी रणनीति बनाउने समय भएका कारण यस अवधिमा उम्मेदवारहरुले मुख्य चुनावी टिमसँग छलफल र आवश्यक नीति निर्देशन दिने काम गरेको उनीहरु निकट कार्यकर्ताको भनाई छ । कांग्रेस जिल्ला हाईकमाण्डका प्रमुख नेताहरु दिनभर नै चुनावी रणनीतिका लागि दमौलीमा गोप्य बैठकमा सहभागी थिए । वाम गठबन्धनका प्रमुख नेताहरुले पनि धेरै समय चुनावी रणनीतिमै बिताएका छन् ।
यस अवधिमा चुनावी स्थिति कमजोर भएको ठाउँमा अबलम्बन गरिने नीति तथा समग्र चुनावी अभियानका कमजोरी हटाउने काममा जिल्लाका अधिकांशजसो उम्मेदवारले आफूलाई व्यस्त बनाएका छन् । आफ्नो चुनावी गतिविधिको समीक्षा र त्रुटीलाई सच्याउने अवसरका रुपमा समेत मौन अवधिलाई लिने भएकाले यस अवधिको उम्मेदवारहरुले सदुपयोग गरेका छन् ।
कतिपय उम्मेदवारले आफ्नो स्थिती कमजोर भएको क्षेत्रमा कार्यकर्ता परिचालन र खर्चपर्चका लागि समेत तयारी गर्ने गरेको श्रोतहरुको दाबी छ । आफ्ना पक्षका मतदाता मतदान क्षेत्रमा भित्र्याउनका लागि समेत यो समयमा उम्मेदवारहरु बढी लागेका छन् । राजधानी तथा सदरमुकामबाट मतदान स्थलसम्म मतदाता पु¥याउनका लागि सबै उम्मेदवारले यातायातको प्रबन्ध गरेका छन् ।