नेपालको चुनावमा प्रवासीको चासो

पवन पौडेल
दमौली । स्याङजाका भूपराज बस्याल युएईको दुबई आएको दुई दशक नाघिसक्यो । उनले त्यसबीचमा मूलुकमा भएका दुई संसदीय र एक स्थानीय चुनावमध्ये कुनैमा पनि मतदान गर्न पाएनन् । संविधान बनाउने व्यक्ति छान्न नपाएका उनलाई यसपल्ट प्रदेस तथा संघीय सरकारका लागि मत जाहेर गर्ने धोको थियो । तर नेपालले हालसम्म पनि प्रवासमा रहेका नेपालीको मत समेट्ने प्रबन्ध गरेको छैन । ‘हाम्रो रेमिट्यान्सले मूलुक चलेको छ,’ उनले भने,‘तर मूलुकको भविष्य छान्ने हक हामीलाईं नदिइंदा दुःख  लागेको छ ।’ नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्षसमेत रहेका उनले मताधिकार नभएकै कारण प्रवासी नेपालीका आवाज नेतृत्वले नसुनेको दुःखेसो गरे । ‘हामीलाई मताधिकार नभएकैले होला नेताहरुले हाम्रा कुरा सुन्दैनन्,’ निराश हुँदै उनले भने । भिजिट भिषा, तलब तथा विभिन्न खालका पीडा नेपालीले भोग्ने गरे पनि सुनुवाई नहुनुमा नेताहरुलाई खबरदारी गर्ने अधिकार नहुनु नै कारक भएको उनी ठान्छन् । 
दुबईमै कार्यरत तनहुँ म्याग्दे गाउँपालिकाका तीर्थमान श्रेष्ठले सामाजिक सञ्जालमा स्ट्याटस लेखे,‘हाम्रो रेमिट्यान्सले देश चल्ने तर हाम्रो मत देशलाई किन नचल्ने ।’ निकै मार्मिक स्ट्याटस लेखेका उनीप्रति साथ दिनेमा उनकै स्थानीय सहकर्मीहरु थिए । श्रेष्ठले भने,‘देशको विकासमा हाम्रो पनि योगदान छ भने हामीलाई पनि देशको भविष्य छान्ने हक दिइनुपर्छ ।’
दुबईमा डेढ दशयकयता काम गर्दै आएका तनहुँ व्यास नगरपालिकाका रामहरि तिवारीले पनि देशमा आएको परिवर्तनमा आफूहरुको सहभागीताका लागि मताधिकारको व्यवस्था हुनुपर्ने तर्क गरे । ‘विश्वका कतिपय देशले विदेशमा रहेका नागरिकबाट पनि मत लिइरहेका छ,’ उनले भने,‘हामीलाई पनि अनलाईनमार्फत भए पनि मत दिने व्यवस्था हुनुप¥यो ।’
यकिन तथ्यांक प्रष्ट नभए पनि खाडि राष्ट्रमा कतारपछि सम्भवतः बढी नेपाली कार्यत युएईमा केही लाखको संख्यामा नेपाली कार्यरत रहेको बताइन्छ । उनीहरुमध्ये अधिकांशजसो मतदानका बेला ड्युटीमै रहन्छन् । केही प्रभावशालीहरु चुनावका बेला बिदा आए पनि त्यो अवसर सबैलाई मिल्दैन । यसले उनीहरुलाई अछुतको महसुस गराउँदो रहेछ । 
पाँच वर्षयता रास अल खइमामा कार्यरत नेपाली जनसम्पर्क समितिका अध्यक्ष शैलेष खातीले आफूहरुलाई राज्यले दोश्रो दर्जाको नागरिकका रुपमा हेर्न नहुने बताए । ‘हामीलाई पनि मत दिने व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने,‘तब मात्र हामीले समान महसुस गर्न सक्दछौं ।’