राम्रालाई छानौं

देशका विभिन्न जिल्लाहरुमा आज दोश्रो चरणको प्रदेस तथा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । तनहुँका दुई सय ५३ मतदान केन्द्रमार्फत मतदानका माध्यमबाट नयाँ नेतृत्व चयन हुँदैछन् । यो निर्वाचन आफ्नो विकासका लागि आफ्नै तर्फबाट आफ्ना उत्कृष्ट प्रतिनिधि छान्ने सुअवसर पनि हो । जसको सबै अधिकार मतदाताको हातमा अडिएको छ । आज हुने मतदानका क्रममा चुनाव लडेका मध्ये नयाँ सोच भएका, काम गर्न सक्ने, आश्वासन मात्र नभएर वास्तविक रुपमै काम गर्न सक्ने अनि स्वच्छ छवि भएका व्यक्तिहरुलाई चुन्नतिर मतदाताको सोच लाग्नु जरुरी छ । राजनीतिक हिसाबले दलीय प्रतिस्पर्धा भए पनि आम मतदाताले यसमध्येका उत्कृष्ट व्यक्तिलाई नेतृत्वमा पु¥याए मात्र टोल, गाउँ अनि सहरको विकासको मुहार फेरिन्छ । नेतृत्वमा पठाएर पद मात्र ओगट्ने भन्दा पनि मतदानमार्फत सक्षम व्यक्ति छानेर उनीहरुका माध्यमबाट असल नियम, कानुन निर्माण अनि कार्यान्वयन गर्ने अवसर हो । चुनावबाट चुनिने व्यक्तिहरुबाट प्रदेस र समग्र देशकै विकास हुने भएकाले त्यहाँ गएर आफ्नो सीप र क्षमता अनि दक्षता देखाउन सक्ने व्यक्ति नै चुन्न मतदाता लाग्नुपर्छ । यदि त्यसो हुन सकेन भने प्रदेस र संघीय सरकारको सही अभ्यास हुन नपाउने अवस्था आउन पनि सक्छ । समग्रमा चुनावको सुरक्षा अनि निष्पक्षतामा प्रशासन र निर्वाचन कार्यालयको ध्यान जानु जरुरी छ भने आम मतदाता पनि सचेत हुनु जरुरी छ । यसले नै असल व्यक्ति छान्ने यो चुनावलाई सफल पार्न भूमिका पनि खेल्नेछ ।