प्रदेस ४ को आधा भागमा चुनाव

दमौली । बिहिबार चुनाव हुने तनहुँसहित प्रदेस नम्बर चारका पाँच जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । यस प्रदेसका हिमाली तथा उच्च पहाडी क्षेत्रहरु वाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा र लमजुङ जिल्लामा पहिलो चरणमै चुनाव भैसकेको छ । 
तनहुँ, कास्की, पर्वत, स्याङजा र नवलपरासी पूर्वजस्ता पहाडी तथा मधेस भागमा पर्ने भेगहरुमा भने बिहीबार चुनाव हुँदैछ । चुनावका लागि क्षेत्रीय प्रशासन कार्यालयको मातहतमा रहने गरी सैनिक पृतना, नेपाल र सशस्त्र प्रहरीको सुरक्षा टोली परिचालन गरिएको छ । हालसम्म ठूला चुनावविरोधी गतिविधि नभए पनि क्षेत्रीय प्रशासन कार्यालयले सुुरक्षा व्यवस्थापनमा बढी जोड दिएको छ । विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतनामा चुनावी क्रममा आपतकालीन सुरक्षा अवस्थाका लागि भनेर हेलिकोप्टर तैनाथ राखिएको छ ।
यस क्षेत्रका राजमार्ग र यसअघि चुनाव भएका क्षेत्रका नाकामा सुरक्षा निगरानी बढाइएको छ भने चुनाव बहिस्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि भएका ठाउँमा सैनिक परिचालनमा जोड दिइएको छ । तनहुँमा विप्लव समूहको गतिविधि बढी भएको भिर्कोटमा सेनाको बेस स्थापना गरिएको छ । समग्रमा चुनावका गतिविधिहरु निर्वाधरुपमा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन् । चुनाव सकिनासाथ मतगणनाका लागि सदरमुकामहरुमा तारजालीसहितको गणनास्थल तयारीको काम पनि सँगै अघि बढाइएको निर्वाचन अधिकारीहरुले जनाएका छन् ।