आज प्रदेस र संघीय चुनाव

पवन पौडेल
दमौली । पहिलो पटक हुन लागेको प्रदेस सभासँगै प्रतिनिधि सभाका प्रतिनिधि समेत चयनका लागि बिहीबार तनहुँसहित दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मतदान हुँदैछ । दुई पटक संविधान सभा चुनाव भैसकेको तनहुँमा यसपल्ट प्रतिनिधि तथा प्रदेस सभाको प्रतिनिधिका लागि मतदान हुँदैछ ।
स्थानीय तह निर्वाचनको ताजा असर कायमै रहेका बेला हुन लागेको प्रदेस र संघीय संसदको निर्वाचन यस अघिजस्तो सोझो अनुमान गर्न सकिने अवस्थाको नरहेको जानकारहरुको ठम्याई छ । गत स्थानीय चुनावमा जिल्लाभर १ लाख ९४ हजार ४ सय ७१ रहेकामा यसपल्ट १६ हजार ९ सय २५ मतदाता थपिएका छन् । यससँगै २ लाख ११ हजार ३ सय ९६ मतदाताले यसपल्ट मताधिकारको प्रयोग गर्दैछन् ।
थपिएका यी मतदाता नै जुनसुकै क्षेत्र वा उम्मेदवारका लागि निर्णायक हुने देखिएको छ । स्थानीय चुनावपछि उमेर पुगेका तथा पहिले छुट भएका यी मतदाताको रुचि भएका उम्मेदवारको पक्षमा चुनावी परिणाम आउने सम्भावना छ । यद्यपि यसअघिको चुनावको परिणामको आधारमा चुनावी विश्लेषण गरिरहेका चुनावी विश्लेषकहरुलाई थपिएका मतदाताको प्रवृत्तिका बारेमा अनुमान लगाउन गाह्रो भएकाले पनि सामान्य मतान्तर भएका क्षेत्रमा थपिएका मतदाताको प्रभाव निकै बढी हुने आंकलन छ ।
जिल्लाभर बिहीबार विहान ७ बजेबाट शुरु हुने मतदानका लागि एक सय ३६ ठाउँमा दुई सय ६५ मतदान केन्द्र तय गरिएको छ । कतिपय ठाउँमा चारवटासम्म मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावी परिचालनका लागि यसपल्ट ३ हजार १ सय ७६ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए । 
मतदान केन्द्रहरुमा वृद्धवृद्धा तथा अशक्तहरुका लागि लाईनमा बस्नु नपर्ने प्रबन्ध मिलाइएको छ ।
‘हाई प्रोफाईल’ जिल्लामा उच्च सुरक्षा सतर्कता
विप्लवको पकड क्षेत्रमा सेनाको बेश
‘हाई प्रोफाईल’ नेता नै चुनाव लडेका कारण तनहुँको सुरक्षा व्यवस्था यसपल्ट निकै चुस्त पारिएको छ । चुनावपूर्व केन्द्रीयस्तरका नेताहरुलाई लक्षित गरी आक्रमणका घटना भए पछि तनहुँ प्रशासनले सुरक्षा रणनीतिमा परिवर्तन गरी उच्च सतर्कता अपनाएको छ । ‘सुरक्षाका विभिन्न योजना बनाएर कार्यान्वयन गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले भने । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललक्षित गरी तनहुँ र लमजुङको सिमानामा दुई साता अघि बम प्रहार भएको साता दिनपछि अर्का नेता प्रदीप पौडेलको घरमा विष्फोट भएको      थियो । चुनाव बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको गतिविधि भैरहने जिल्ला भएका कारण पनि प्रशासनले आफ्नो नेतृत्वमा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीलाई विशेष सतर्कताका साथ परिचालन गरेको 
छ । 
जिल्लाका एक सय ३६ ठाउँका दुई सय ६५  मतदान स्थलमा तत्काल ‘रेस्पोन्स’ हुने गरी नेपाली सेना तथा सशस्त्रका २६ भन्दा बढी ‘सुरक्षा बेश’ खडा गरिएको प्रजिअ शाक्यले बताए । गत संविधानसभा चुनावमा विप्लव समूहले बढी गतिविधि गरेको भिर्कोटमा नेपाली सेनाले विशेष बेश नै खडा गरेको छ । ‘विकटका भागमा समेत आवश्यक सुरक्षा परिचालन गर्न सकियोस् भनेर भिर्कोटमा बेश खडा गरिएको हो,’ प्रजिअ शाक्यले भने । जिल्लाको दक्षिणी क्षेत्रमा विप्लव समूहका गतिविधि बढी भएको सुरक्षा निकायको ठम्याई छ । प्रशासनका एक अधिकारीले ‘हाई प्रोफाईल’ नेताहरु चुनाव लडेका कारण पनि आफूहरु बढी सजग रहेको बताए । ‘साना केही घटना घट्नासाथ ठूलो प्रभाव पर्ने भएकाले पनि बढी सचेत छौं,’ ती अधिकारीले भने । 
जिल्लाका चारवटै सुरक्षा अंगका प्रमुखको कमाण्ड  नै जिल्ला प्रशासनमा राखिएको छ । ‘चुनावमा कुनै समस्या आए तत्काल निर्णय गर्न सहज होस् भनेर सबै सुरक्षा प्रमुखलाई एकै ठाउँमा बसेर ‘कमाण्ड कन्टूोल’को संयन्त्र खडा गरेका छौं,’ प्रजिअ शाक्यले भने । प्रशासनमै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन अधिकारीसमेत बसेर आवश्यक रणनीति र कार्यनीतिमा एकरुपता ल्याउने प्रयास प्रशासनले गरेको छ । 
“चार दिनभित्र मतपरिणाम”
मुख्य मतदान अधिकृतको कार्यालयले चुनावलगत्तै सोही दिन रातीबाट मतगणनाका लागि कर्मचारीको प्रबन्ध गरेको जनाएको छ । ‘चुनाव सकिनासाथ राती १२ बजेसम्म मतपेटिका दमौली आउने प्रबन्ध गरेका छौं,’ जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले भने । उनले जिल्ला समन्वय समिति र जिल्ला कृषि विकास कार्यालयमा मतगणनाको प्रबन्ध गरिने जानकारी दिए । ‘सकेसम्म कम समयमा मतपरिणाम आउने गरी गणनासमेतको तयारी गरिएको छ,’ उनले भने । 
मतगणनास्थलमा तारबार
मतगणना गर्नका लागि चुनाव भएकै दिन मतपेटिका जम्मा पार्ने र गणना गर्नका लागि तोकिएको जिल्ला समन्वय समिति र कृषि विकास कार्यालयमा सुरक्षा बढाइएको छ । बाहिरबाट मानिस नपसुन् भनेर समन्वय समितिमा नेपाली सेनाले तारबार गरेको छ । कृषि कार्यालयमा पनि सोहीअनुसारको सुरक्षा गरिएको र मतपत्र गणकबाहेकले नछुने गरी प्रबन्ध मिलाउन लागिएको सुरक्षा अधिकारीहरुको भनाई छ ।