उम्दा क्रान्तिकारी उमाभद्र

– बाबुराम खनाल
फाइन प्रिन्टले प्रकाशन गरेको ‘भुइयाँ’ पुस्तकमा सामाजिक भेदभावको सन्दर्भमा यज्ञशले वर्णाश्रम व्यवस्थाको बारेमा यसरी लेखेका छन्, “जातित्वसँग इज्जतको मात्रा मात्रै जोडिदैन, विस्तारै हरेक जाति वर्गले आफ्नो बेग्लै जीवनशैली निर्माण गर्दै जान्छ । यसैसँग गर्न हुने र नहुने बार बन्देज निर्माण हुन्छ र अन्त्यमा जुन जुन मानिसले त्यो बन्देजको पालना गर्दैन त्यो जाति च्यूत हुन्छ ।” त्यही सन्दर्भ उद्धृ्रत गर्दै हिन्दी साहित्यिक आन्दोलनका हस्ति राजेन्द्र यादबले भनेका छन्, “एउटा ब्राम्हणपुत्र बढी भन्दा बढी क्रान्तिकारी वा विद्रोही भयो भने सडकमा बसेर जुत्ता पालिस गर्न सक्छ ।” 
तर उमाभद्रको हकमा यो लागू भएन, हलो क्रान्ति त्यो भन्दा उम्दा विद्रोही कदम हो । लेखकभन्दा पनि धेरै प्रगतिशिल र समयभन्दा पनि धेरै क्रान्तिकारी घटना हो । हलो जोतेका ब्राह्मणहरूको जातिच्यूत चाहेर पनि सजिलो थिएन । यद्यपी समाजका सबै बार–बन्देज तोडिएको थियो र जीवनशैली पनि विद्रोही नहुने भन्ने प्रश्नै थिएन ।
वि.सं. १९८६ वैशाख १२ गते तनहुँको चुँदी सिम्पानीमा डिट्ठा अंशुमाली र अदम्य साहसकी धनी तारादेवी खनालको कोखबाट जन्मी जिम्मेवार वात्सल्यमा हुर्किनुभएका उमाभद्र खनालले राजनीतिक सामाजिक चुली निर्माणमा आफूलाई होम्नुभयो । क्रान्तिप्रति गहिरो रूची र इच्छाशक्ति भएकै कारणले पहिलो दर्जाको क्रान्तिकारी प्रमाणित हुनुभयो । 
लमजुङको दुराडाडाँबाट शुरू भएको हलो क्रान्तिपूर्व नै वहाँ जयतु संस्कृतम् आन्दोलनमा जमिसक्नुभएको देखिन्छ । उपाध्याय ब्राह्मणपुत्र उमाभद्र लगायतले सामन्ति समाज र हुकुमी शासनका पृष्ठपोषकलाई दिएको चुनौतीले उहाँ र उहाँजस्ता क्रान्ति पुरुषहरूलाई हली अथवा जातफाला बाहुनमा गणना गरियो । 
वि.सं. २००६ पुष ६ गते तनहुँको टुहुरेपसल नजिक बिर्ता बगरमा उहाँ लगायत रामप्रसाद खनाल, विष्णुहरि खनाल र भूवनेश्वर ढकालहरूले हलो जोतेपछि उमाभद्रहरू कांग्रेसी क्रान्तिकारीकै भात–भान्सामा पर्गेलिनुभयो । तथापी उहाँहरूको त्यो समुहले त्यसबखतको राजनीतिक सामाजिक परिपाटी भत्काउनै पर्ने खालको भएको हुँदा त्यसबाट विचलित हुने अवस्था सिर्जना हुन दिनुभएन र सात सालको ऐतिहासिक क्रान्तिमा १०४ वर्षको जहाँनिया शासन ढाल्न सफल हुनुभयो । 
राजनीतिलाई समाजसेवाकै माध्यम बनाएकै कारणले समाजका विकृतिहरूलाई चिर्दै उहाँले विभिन्न क्षेत्रमा सुधारका प्रयासहरू शुरू गर्ने भूमिका खेल्नुभयो । यसमा विशेष गरि कृषिमा अधियाँ आन्दोलन, रवि वालीको खेतीको सुरूवात एवं विद्यालय निर्माण र व्यवस्थापनमा हुने गरेका घोर अमानविय शोषणलाई अन्त्य गर्ने उहाँका प्रयास सराहनीय छन् । हरेक शोषण र अत्याचारका  विरूद्ध जाइलाग्ने उहाँका स्वभाव र चरित्र लोभलाग्दो भएकै कारणले उमाभद्र जन–जनको हृदयमा स्तुत्य हुनुभएको इतिहासले बताउँछ ।
अमर सिंह मिडिल स्कुलको हेडमास्टरी, म्याग्दीको जनप्रिय स्कुलको संस्थापक हेडमास्टरी र चन्द्रावती मा.वि.को भौतिक विस्तार पनि उहाँका प्राथमिकतामा परे । जयतु संस्कृतमदेखि सत्र सालको ‘कु’ सम्म उमाभद्रले धेरै काम गरिसक्नुभएको थियो । 
सत्र सालको ‘कु’ पछि तनहुँदेखि  जुम्लासम्मको अकल्पनिय जेल यात्राले पनि उहाँलाई गलाएन । तर अब्बल दर्जाको क्रान्तिकारीलाई संगठनको पुँजी बनाउन नसक्दा अर्को विकल्प खोजिन सक्ने संभावना रहिरहने हुँदा त्यस्ता सिपाहींले विद्रोह गर्छन् । उमाभद्रको हकमा पनि यही अपवाद लागू भयो ।
महाभारतमा कतै इतिहास सम्बन्धी यस्तो लेखिएको छ, “इतिहासलाई प्रयत्नपूर्वक रक्षा गर्नुपर्दछ किनकि धन नष्ट भएर केहि हुँदैन तर इतिहास नष्ट भयो भने सबै कुरा नष्ट हुन्छ  ।” यस्ता कथनले मानव सभ्यताको विकासमा इतिहासले कति महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने प्रष्ट पार्छ । तर सुन्दर इतिहास बोकेको नेपाली कांग्रेस पार्टीले सहस्रपूर्व चन्द्र देखेको स्वयं इतिहास बनेको व्यक्तित्वको पहिचान खोजेन र प्रजातन्त्र सेनानी घोषणा गरेन तथापि उहाँ सबै सिद्धान्त र सबै आदर्शका अनुयायीहरूको मात्र नभइ जनस्तरबाट नै सर्वस्विकार्य प्रजातन्त्र सेनानी ठहरिनुभएको छ । क्रान्तिमा व्यक्ति सामथ्र्यको देनलाई नजरअन्दाज गरिनुहुदैनथ्यो । पार्टीका हरेक पक्षमा कमजोरीहरू पहिल्याउदै त्यसलाई आलोचनात्मक टिप्पणी गर्नेलाई चिन्न सक्नुपथ्र्यो ।  के थिएन उहाँसँग ? शोषित, पीडित र दुःखीहरूको पक्षमा कसैको कठालै समात्न परेपनि पछि नपर्ने चरित्र छँदैथियो । 
मानवीय मूल्यमा झुक्न जानिएन र सकिएन भने आज नभएपनि भोली त्यस्तो प्रवृत्तिको अन्त्य कसैले रोकेर रोकिदैन । इतिहास बनाएको व्यक्तिको विशिष्ट गुणलाई परख गर्न नजान्दा भविष्यमा आफ्नै औचित्यमाथि प्रश्न उठ्छ । व्यक्तिको मूल्यांकन को कुन पदमा छ भनेर होइन, समाज र राष्ट्रका लागि के कति योगदान गर्योम भन्ने आधारमा गरेमात्र लोकतन्त्रको पैरवी गर्न सकिन्छ ।
निमुखालाई न्याय र विपन्नलाई आय भन्ने सिद्धान्तबाट ओतप्रोत हुनुभएका उमाभद्रले निष्ठा र सिद्धान्तको राजनीति गर्नुभयो । तर उहाँहरूको त्यो अभियान आज धर्मराएको छ, सिद्धान्त र आदर्शको राजनीति विसर्जन गर्ने यात्रामा छन् मुख्य राजनीतिक पार्टीका शिर्ष नेताहरू । 
उमाभद्र भन्ने गर्नुहुन्थ्यो, “सत्ता, शक्ति र नवधनाढ्य हुने होड र पार्टीभन्दा पनि आत्मकेन्द्रित हुने अवस्था निरन्तर चल्यो भने नेपाल र नेपालीको भविष्य छैन ।” वर्तमान परिस्थिति कतै त्यही दिशातर्फ नमोडियोस् । 
हलोक्रान्तीका योद्धा र प्रजातान्त्रिक सेनानीलाई नमन !