धार्मिक सहिष्णुताको बल

नेपालका गैर इसाई समुदायले समेत क्रिसमस पर्वको शुभकामना साटासाट गरे । शुभकामना साटासाट मात्र हैन गैर इसाईले समेत यो पर्व मनाए । यो त भयो क्रिसमसको कुरा । हिन्दु समुदायको दशैंको अवसरमा गैरहिन्दुले शुभकामना दिनु रोचक पक्ष बन्न थालेको छ । दशैं नमान्नेहरुले पनि दशैंको भोजमा सहभागीता जनाउने तथा एक आपसमा शुभकामना दिने गर्दछन् । हिन्दुहरुको ठूलो चाड दशैं अन्य धर्मावलम्बीहरुका लागि सामाजिक पर्व बन्न पुगेको छ । रमादानको अवसरमा गैरमुस्लिम समुदायले शुभकामना दिने र पर्वको भोजमा सहभागी हुने संस्कार नेपालमा बनेको छ । विश्वका विभिन्न मूलुकमा एउटै धर्मभित्र पनि विभिन्न सम्प्रदायबीच द्वन्द्व देखा पर्ने गरेको छ । तर हाम्रो मूलुकमा भने एक धर्ममात्र नभएर अर्को धर्मबीच पनि सौहार्दता र एक अर्काको सहअस्तित्व स्विकार्ने गज्जबको परम्परा छ । यसले अरुका लागि पनि प्रेरणा दिन सक्दछ । हामीबीचमा यो सद्भाव र सहिष्णुता कायमै राखेर नेपाललाई रंगीचंगी फूलको फूलबारी बनाउन सकिन्छ । यसतर्फ धार्मिक अगुवा मात्र नभएर आम नागरिकको रचनात्मक योगदान आवश्यक छ ।