व्यवसाय जगतमा सक्षम नेतृत्वको आवश्यकता

तनहुँ उद्योग वाणिज्य संघ र यसअन्र्तगतका एकाईहरुका अधिवेशन तोकिएपछि अब व्यवसायीहरुमा चुनावी माहोल तातेको छ । खासगरी व्यवसायीहरुबीच नेतृत्व हत्याउनका लागि कसरतले गति पाएको छ । जिल्ला संघ तथा बजार एकाईको नेतृत्वमा पुग्न व्यवसायीहरु समूह नै बनाउने अभ्यासमा छन् । सर्वसम्मति भन्दा चुनावी प्रतिष्पर्धाको प्रबल सम्भावना रहेको चुनावमा आफ्नो समूह बनाउनतर्फ व्यवसायी लागिरहँदा यसले गुटबन्दी र व्यवसायीक ध्रुवीकरणलाई बढावा दिने गरेको छ । आफू आफ्ना एजेण्डा लिएर जानुभन्दा समूह बनाएर चुनाव लड्ने प्रवृत्तिले कतिपय खराब व्यक्ति पनि नेतृत्वमा जाने सम्भावना रहन्छ । समूहमा पर्न वा निर्माणमा लाग्न नसक्दा सम्भावना बोकेकाहरु पर पर्ने सम्भावना रहन्छ । विगतका चुनावको पाठ पनि यही हो । यसर्थ व्यवसायी जगतले समूह भन्दा व्यक्तिको क्षमता हेर्नुपर्ने हो । नेतृत्वको दाबेदारी गर्नेहरुले पनि आफूले दिनसक्ने समयका आधारमा आकांक्षा देखाउनु जरुरी छ । दर्जनौं संस्थामा बस्ने र समय दिन नसक्नेले पद ओगट्नुभन्दा सक्षम र समय दिनसक्ने व्यक्ति नेतृत्वमा आउँदा व्यवसायी जगतलाई फाइदा हुन्छ । र त्योभन्दा बढी नेतृत्व कौशल र काम गर्ने खुबी भएकाहरु आउनु जरुरी छ ।