शिक्षकका लागि सकारात्मक शुरुवात

नेपाल शिक्षक संघका अध्यक्ष कमलभक्त पोख्रेलको विशेष जोडमा शुरु अभियानका कारण देशभरमै नमूना रुपमा तनहुँमा शिक्षक कल्याणकारी कोष स्थापना भएको छ । निजामति कर्मचारीजस्तो सरकारले नहेर्ने भएका कारण शिक्षकहरु जिम्मेवारी ठूलो भए पनि सरकारी कमजोर दृष्टिको सिकार थिए । निजामति कर्मचारी, सेना र प्रहरीका लागि कल्याणकारी कोष छ । जसबाट आपद् विपद्मा परेका पेशाकर्मीले राहत पाउँछन् । कोषहरुबाटै सञ्चालित अस्पताल, शिक्षालय आदिमा उनीहरुले छुट पाउने गरेका छन् । तर शिक्षकका लागि यस्तो व्यवस्था छैन । आम नागरिकलाई शिक्षित गराउने दायित्व बोकेका उनीहरु राज्यका दृष्टिमा आम रुपमै छन् । यस्तोमा शिक्षकहरुका लागि कल्याणकारी कोषको अवधारणा जरुरी थियो । एउटा दलनिकट शिक्षक संगठन नै सहि उसले उठाएका एजेण्डा एउटा दल विशेष र स्वार्थ विशेषको घेरा भन्दा माथि थियो । राज्यले गर्न नसकेको काम एउटा जिल्लामा त्यो पनि एउटा संगठनको सक्रियतामा शुरु हुनु पक्कै पनि साहसिक र उदाहरणीय काम हो । नेपाल शिक्षक संघको अध्यक्षको उम्मेदवार उठ्दा पोख्रेलले उठाएको एजेण्डा उनी पदमा पुगेको केही महिनामै साकार रुप लिनुले दह्रो इच्छाशक्ति लिएर काम थाल्ने हो भने पुरा गर्न सकिन्छ भन्ने नजिर पनि स्थापित गरिदिएको छ । तनहुँमा स्थापित शिक्षक कल्याणकारी कोषमा अहिले सबै विचारका शिक्षक अटाएका छन् । यसलाई सुखद् मान्न सकिन्छ । जिल्ला शिक्षा कार्यालय र शिक्षा समितिले समेत अपनत्व लिएको कोषको सञ्चालन प्रति शिक्षक वार्षिक तीन सय ६५ अर्थात दैनिक एक रुपैयाँ संकलनबाट थालिएको छ । यो साँच्चै सुखद् पक्ष हो । कोषको सञ्चालनलाई प्रभावकारी बनाउँदै सबै शिक्षकको सहभागीता गराउन सकिने हो भने यसले परिकल्पना गरेको आपद् विपद्मा राहत दिने कामले सार्थकता पाउन सक्छ । पारदर्शी कार्यविधिको निर्माण गरी वास्तविक आवश्यक वर्गलाई समेट्ने गरी कोष सञ्चालन गर्न सकिए यो राज्यको नीति निर्माताका लागि समेत दह्रो पाठ बन्न सक्छ ।