चुनावमा पैसाको खेल रोकौं

व्यवसायीहरुको चुनाव नजिकिंदै गर्दा नेतृत्व लिनका लागि कसरत बढ्दो छ । दमौली बजार एकाईका लागि दर्जन बढी सदस्य दाबेदार रहँदा सभापतिमा हालसम्म दुई नाम चर्चामा छ । तनहुँ उद्योग वाणिज्य संघको जिल्ला नेतृत्वका लागि पनि कम्तीमा दुई उम्मेदवार बन्ने निश्चित छ । हाल चर्चामा रहेका नाउँ त्योभन्दा बढी छ । यसबाहेकका पदमा उठ्न तयार उम्मेदवारको सूची पनि लामै छ । अझ औपचारिक मनोनयन बाँकी नै रहँदा उम्मेदवारको संख्याबारे अनुमान गर्नु हतार नै हुनेछ । यसर्थ व्यापारीको छाता संगठनमा प्रतिष्पर्धा ठूलो हुने देखिन्छ । तर यस प्रतिष्पर्धालाई सभ्य बनाउनु पनि उत्तिकै जरुरी छ । खासगरी व्यवसायीको चुनावमा पैसाको ठूलो खेल हुने गरेको चर्चा सुनिन्छ । सामाजिक कामका लागि नेतृत्वमा जाने प्रतिष्पर्धा वैचारिक र एजेण्डागत हुनुपर्ने हो । तर त्यसो हुन नसकेर रकमको चलखेल हुनु कुनै पनि अर्थमा व्यवसायिक हितमा छैन । एकातिर आफ्नो समय र श्रम अनि अर्कोतिर सोही पदमा जानका लागि रकमको खेल हुने प्रवृत्ति निकै खराब बन्न पुगेको छ । यसले भावी दिनमा तिक्तता र गलत ढंगले लाभ लिनका लागि पनि पदको दुरुपयोग नगर्लान् भन्न सकिन्न । यसकारण व्यवसायिक प्रतिष्ठा र हक हित अनि शुद्धिकरणका लागि यो प्रतिष्पर्धालाई भड्किलो नबनाइकन शुद्धता ल्याउनु जरुरी छ । व्यवसायिक माध्यमबाट नेतृत्वमा पुगेका र सबैभन्दा बढी आम व्यवसायीको भूमिका यसमा रहनुपर्दछ ।