सम्झनामा मिनुमाया

– बाबुराम खनाल
‘अन्तर्मनको यात्रामा जगदीश घिमिरे लेखेका छन्, ‘बाँचुन्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्यलाई पनि माया गर्नुपर्छ । जीवन भएकाले मृत्यु भएको हो । जीवन नभएको भए मृत्यु पनि हुने थिएन । जन्मसँगै मृत्यु जोडिएर आएको हो ।’
आजभन्दा ८६ वर्ष अघि नरनाथ वाग्ले र तुलसा वाग्लेको कोखबाट नरंगामै जन्मनुभएकी न्यौपानेको दमोलीमा उपचारका क्रममा देहान्त भयो । पुरै जीवन बाँचेर सन्ततिको सुख–सन्तोष देखेर मृत्युवरण गर्न पाउनु उहाँको भाग्य हो । उहाँको मृत्युलाई परिवारका सदस्य सहित सबैले सहज रुपमा स्वीकारेरै होला त्यति ठुलो शोक देखिंदैन । तर सबैको सन्ततिलाई लाग्छ होला आफ्ना आमाबाबु धेरैभन्दा धेरै उमेर बाँचेर खुशी र पािरवारिक सन्तोष दिउन् । त्यसो भनेर समयको योजनालाई कसैले चुनौती दिन सक्दैन समयको योजनामा सबैले जिउन र मर्नुपर्छ । यो शाश्वत सत्य हो । ईश्वरले कसैको पुकार सुनेनन्, विज्ञानले सकेन । यति लामो जीवन पाउनु सुखद् हो । यति लामो जीवन पाउनु जीवनलाई माया गरेर हो । प्राकृतिक र स्वस्थ जीवनशैली अपनाएर हो । मानवजीवनलाई क्वालिटीको रुपमा बुझेर हो । श्रम र सीपले जीवन जिउनुपर्छ  भन्ने पुर्वीय मान्यताले गर्दा हो । ग्रामीण जीवनसँग संघर्ष गरेर उत्पादनका काममा सरिक भएर हो । घाँसदाउरा, ढिकीजाँतो, पानी–पँधेरो जस्ता काममा सदा क्रियाशील भएर हो । पुरुषप्रधान प्रवृत्तिले मागे जति सन्तान जन्माएर र हुर्काएकाले पनि हो । 
पूर्व न्यायाधिश वनमाली उपाध्यायकी पत्नी मिनुमाया आमाको नातिनी र नाति पुस्ताले जीवनलाई कति माया गरेको छ त ? साँच्चै जीवनलाई माया गरेको  छ ? जीवनलाई क्वालिटीको रुपमा लिएको छत ? चेतनाको स्तरसँगै स्वस्थ रहन संघर्ष गरिरहेछ त ? अपवाद बाहेक त्यस्तो देखिदैन । देखिइरहेको छैन । 
देशव्यापी रुपमा अराजकता, हिंसा, आक्रमण, बदला र जीवनबाट भाग्ने प्रवृत्ति बढ्दो छ । अझ विश्व सभ्यता आव्हान गर्ने व्यास र उनको तपोभूमी सर्वाधिक असुरक्षित देखिन्छ । जीवन सिकाउने इतिहास र सामथ्र्य बोकेको दमौलीमा यति धेरै जीवन असुरक्षित किन भइरहेछ ? किन हाम्रा स्थानीय सञ्चार माध्यमले निरन्तर असुरक्षित जीवनका समाचार प्रकाशन–प्रशारण गरिरहनु परिरहेको छ ? नदी संस्कृतिको पहिचान बोकेको पवित्र भूमीको नदी किनारा किन सधैं चाहर्नुपरिरहेछ र किन लास खोज्नु नियति बनिरहेछ यहाँ यस्ता प्रश्नहरुको जवाफ, जिम्मेवार शान्ति र व्यक्तित्वले मात्रै होइन बौद्धिक र शिक्षितहरुले पनि दिन सक्नै पर्ने अवस्था आउँदै छ । भनिन्छ, स्थान वा ठाउँ विशेषको पनि व्यक्तित्व र अस्तित्व हुन्छ । हाम्रो यो भूमिको पनि व्यक्तित्व र अस्तित्व राष्ट्रिय रुपमा गणना हुने गरेको सर्वसाधारणले समेत चर्चा गर्ने गरेको पाइन्छ । दमौलीको व्यक्तित्व र अस्तित्व संकट तिर जाँदैछ । जबसम्म कुनै स्थानको व्यक्तित्व र अस्तित्व हुँदैन मुलुकका लागि त्यसको योग देन पनि हुँदैन । व्यास क्षेत्रको मौलिक पहिचान र व्यक्तित्व जोगाइ राख्नुपर्छ भन्नेहरुले त्यसका लागि आफुद्वारा गर्न योग्य सबै काम गर्नुपर्छ केहीले त गरिरहेछन्, अब सबैले गर्ने परिवेशको सृजना हुनुपर्छ । यसको मौलिकता सहितको इतिहासको संरक्षण गर्न सक्ने समूह र व्यक्तिहरुले त्याग र बलिदानको परिमाण बढाएर कामैबाट अपिल गर्न सक्नुपर्छ । 
हाम्रा समस्या समाधान गर्ने तरिकामा पनि अब समीक्षा गरिनुपर्छ सजिलोबाट गरिएका समाधानहरु प्रत्युत्पादक हुन्छन् । टालटुल समाधानहरुले अरु समस्या थप्न गरेको र एक पछि अर्को गर्दे जाने सम्भावनाले कुनै दिन नियन्त्रण गर्नै नसकिने परिस्थितिको सामना गर्नुपर्ने समय आउन सक्छ÷सतहमा आउने गरेका घटनाका आपराधिक प्रवृत्तिले वैचारिक निष्ठा सहितको दलगत राजनीतिको जुत्ता फुकालेर गरिने राजनीति खोजेको छ । सत्ता, शक्ति, गठबन्धन र बाहुबलको राजनीतिले होइन, स्वार्थ रहित ढुंगाले सामाजिक न्यायको स्थापना र संस्थागत गर्ने राजनीतिको आवश्यकता मागेको छ । 
त्यो आवश्यकतालाई सम्बोधन गर्न दलिय राजनीतिको गाटी चालमा नफस्ने र टिकटको राजनीतिबाट पछाडि परेका र पारिएका राजनीतिज्ञ, नागरिक समाजका अगुवाहरु, अधिकारकर्मीहरु शिक्षण क्षेत्रमा सक्रिय र निवृत्त भएका व्यक्तहरु सामुहिक रुपमा अभियान सहित लाग्न आवश्यक छ ।