तिमी गरिखाने युवा थियौ

‘मानिसको निर्माण हुन्छ उसको सोचले, उसको विचारले÷ हो, तपाईको निर्माण हुन्छ, तपाईकै सोचले । तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । एउटा कुरा सदैव याद राख्नुहोस् तपाई नसोचेको कुरा कहिल्यै प्राप्त गर्न सक्नुहुन्न । आफुलाई कमजोर ठान्नुभयो भने मात्र तपाई कमजोर बन्नुहन्छ । तपाई कमजोर भएर कमजोर बन्नभएको होइन, कमजोर ठानेकाले कमजोर बनेको हो । यदि तपाई स–साना लहरबाट प्रभावित भएर त्यही लहरमा बग्नुको साटो दह्रा गोडाले टेकेर लक्ष्यतिर अभिमुख बन्नुहुन्छ भने तपाईलाई कसैले हल्लाउन सक्दैन ।’ (यस.आई.क्यान, पुण्यप्रसाद प्रसाईं)
हरिबहादुर र टीकामाया जिसीका  (आमातर्फका जेठा) छोरा शंकर तिमी विचारशील, गतिशील र उर्जाशील युवा थियौ । सानो सपनाका निम्ति ठुलो मुल्य चुकाउन खाडीको मष्तिस्क पगाल्ने गर्मी र तातोमा खटेका युवाहरुका लागी प्रेरक थियौ । तिमी सपना देखेर पछ्याइरहने युवा थियौ । युवा शक्ति निर्यात गरेर देश बन्दैन भन्ने कुराका जानकार थियौ । बदल्नुस् आफ्नो जीवनकथा भनेर वैदेशिक रोजगारबाट बिदामा आएका युवाहरुलाई कामबाट आग्रह गर्ने हैसियतका युवा थियौं । आफ्नो कमजोरी आफै मुल्यांकन गर्ने र सच्याएर अघि बढ्ने युवा थियौ । तिमी मुभमेन्ट थियौ । तिमी निरन्तर र सिर्जनशील  थियौ । आँटी र साहसी थियौ। 
अविरल बग्ने नदी थियौ । आफ्नै सोच र विचारले निर्माण हुँदै थियौ । बलियो सोचकै कारणले बलिया थियौ । जहिल्यै प्राप्तिकै लागी क्रियाशील थियौ । दह्रा गोडा टेकेर लक्ष्यतिर अभिमुख थियौ । जोकसैले हल्लाउन खोज्दा नहल्लीने पिलर थियौ । 
रोजगारीको खोजीमा हिंड्नेहरुको भिडमा स्वयम् रोजगार सर्जक थियौ । उपभोक्तावादलाई मलजल गर्न तम्सीरहेको नेपाली संस्कृतिमा तिमी अब्बल दर्जाका उत्पादक थियौ । तिमी बाँझो जग्गाका विकल्प थियौ । गौमाताका सेवक मात्रै होइन तिनको स्रोतकेन्द्र थियौ । अग्र्यानिक खेतीका पर्याय थियौ । मांसाहारको होइन दुग्ध पदार्थका प्रवर्धक थियौ । तिमी गरि खाने थियौ । युवाहरु त समाधान हुनुपर्छ भन्ने सन्देशवाहक थियौ । सुखको स्रोत दुःख हो भन्ने मान्यताका पुजारी थियौ । 
ग्रामीण क्षेत्रका पक्षपाती थियौ । हाम्रा दुःखले हाम्रै पालामा देश र समाजलाई कृषिबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ निश्चय बोकेर हिड्ने युवा थियौ । कामबाटै सबैलाई विचार पढाउदै र सिकाउदै थियौ । भाग्यवादीहरुको जमातमा एक कर्मवादी थियौ । तिमी स्वयम् जुर्मुराएर जागेका युवा थियौ । सफलताको सिंढी निर्माण गर्दै र चढ्दै जाने उद्यमशील थियौ । उन्नतिको उकालो सिकाउने सामथ्र्य बोकेका होनहार युवा थियौ । 
सबैले आ–आफ्नाका निम्ति पसिना बगाएमा माथि उठ्न गाह्रो छैन भन्ने सिद्धान्तका प्रवर्र्तक थियौ । नवीन सोचका हिमायती थियौ । सुझबुझ सहितको संकल्पको श्रमले झुपडीबाट महलमा पुग्न सकिने इच्छा शक्तिलेयुक्त युवा थियौ । तिमी व्यावसायिक योजनाकार थियौ । कर्तव्यले निर्देशित थियौ । आफैलाई नै आफुले अभिभावक ठानेका थियौ । आफ्नो उद्धारक पनि आफै थियौ । बदलिँदो समयसँगै आफु पनि बदलिनुपर्छ भन्ने एक आव्हानकर्ता थियौ ।
तर तिमीसँग नियतिले बदलाको भावना राख्यो । समयले चुँडाल्यो । गन्तव्यमा पुग्न दिएन । पूरा आयु बाँच्न दिएन । शिखर चुम्ने मौका दिएन । सपना पछ्याइरहन दिएन । समयको योजना त्यस्तै रहेछ । दैव पनि त्यस्तै जिउँदाहरुलाई देखी नसहने रहेछ । तर तिमीले दीर्घायु नपाएपनि दीर्घायुले गर्ने जति कर्म ग¥यौ । जति बाँच्यौ पौरखले बाँच्यौ । 
तिम्रो अनुपस्थितिलाई समयले पारेको दुर्घटनाको रुपमा यसलाई स्वीकारेर तिम्रो जीवनसंगिनीले त्यो विरासत थाम्ने हो । अब त्यो काम अस्तित्वले मलाई जिम्मा दिएको छ भनेर म जहाँ लडेँ, जहाँ पछारिएँ, त्यहीँबाट उठेर धुलो टक्टकाउँदै, आफैलाई सान्त्वना दिँदै, सन्ततिलाई आँशु नदेखाएरै ‘हो, म सक्छु’ जस्ता प्रतिबद्धताले काम गर्ने हो । अब ‘मलाई लाग्छ, म यो गर्न सक्छु’, होइन ‘मलाई थाहा छ, म यो गर्छु’ भनेर पुर्ण आत्मविश्वासका साथ दह्रो खुट्टा टेकेर कर्म क्षेत्रमा टक्रने हो । बेलुका आराम गर्ने बेलामा र विहान उठेपछि एक पटक आफ्नालागि सकारात्मक कुरा भन्नुहोस् । ‘म योग्य र संघर्षशील छु । ममा पनि सम्भावना, भविष्य र सामथ्र्य छ । म एक पौरखी व्यक्ति हुँ । म आफुलाई, मेरा सन्तति तथा व्यवसायलाई र परिवारका अन्य सदस्यलाई धेरै प्रेम गर्छु, म आफुले चाहेको सफलता प्राप्त गर्न समर्थ छु । म सक्षम नारीको रुपमा स्थापित हुन चाहन्छु’, जस्ता संकल्प गर्दै प्रगति पथमा लम्कनु शंकर प्रतिको श्रद्धाञ्जली हुनेछ ।