अनशन चौतारीमा सकारात्मक काम

लोकतन्त्रप्राप्तिको आन्दोलनका बेला अनशन बस्नका लागि प्रयोग भएको दमौली अनशन चौतारीले नयाँ नाम पायो । दमौली अनशन चौतारीको पहिचान पाउन सफल दमौली खुला मैदानअघिका चौतारीहरु मर्मतको अभावमा जीर्ण बनिरहेका छन् । जीर्ण, भत्किएका कारण विरुप बन्न लागेका चौतारीको संरक्षणका लागि व्यास ३ वडा कार्यालयले चालेका प्रयास सराहनीय छन् । शुरुमा निर्माण गर्ने निर्माणकर्ताले चासो नदिएका कारण चौताराहरुको अवस्था कमजोर बन्न पुगेको हो । रुखहरु बढ्दै जानु र त्यसले असर गर्नु तर मर्मत नहुनुजस्ता कारण चौतारा संकटमा पर्न लागेका बेला सबै चौताराको मर्मत र एक रुपता आउने गरी चौतारा निर्माण हुनु सकारात्मक पक्ष हो । दमौली अस्पताल जाने बाटो तयार भए पछि मैदानको संरक्षणका लागि सहजता आएको छ । तर पनि प्रवेश गर्ने ठाउँ खुला भएका कारण अझै पनि सवारी साधन र यात्रुको आगमन जहिंतहिंबाट हुँदा कहिलेकाहिं हुने खेल अनि कार्यक्रमका बेला असर परेको छ । अब चौर प्रवेश गर्ने मुख्य निकास एक ठाउँबाट बनाएर अन्य भागमा एकनाशको संरचना बनेमा भोली पार्क वा खेल मैदान जेमा प्रयोग गरे पनि चौताराले प्याराफिट र पर्खाल दुवैको काम दिनेछन् । यसर्थ बहुद्देश्यीय प्रकृतिका चौताराहरुले दमौली अनशन चौताराको रुप फेर्न मद्दत गर्ने देखिन्छ ।