सरसफाई आयोजना र दमौलीको फोहोर व्यवस्थापन प्रणाली

बजारको सफाईको व्यवस्थापनका लागि महत्वाकांक्षी आयोजना शुरु हुन लागेको खबरले दमौलीबासीलाई उत्साहित बनाएको छ । नालासहित सेफ्टी ट्यांकबाट निस्कने फोहोर समेत व्यवस्थापन गर्ने लक्ष्य सहित शुरु हुन लागेको आयोजनाले बजारको सरसफाई व्यवस्थापनमा एउटा कोशेढुंगाको काम गर्नेमा शंका छैन । तर त्यसका लागि आयोजना समयमै शुरु हुनु जरुरी छ । दमौलीमा फोहोर व्यवस्थापनको दिगो श्रोतको अभाव खट्किएको बजार बसाईताका नै हो । त्यसै विषयलाई लिएर सफा नगरकै सुचिमा पर्ने नगरपालिकाले आलोचना खेप्नुपरेको छ । र पटक पटक आन्दोलन पनि । अहिले फेरि श्रोत खोज्न त थालिएको छ । तर फाल्ने ठाउँ पत्ता लागे पनि फोहोरको मात्र बढ्दै जाने हो र फोहोर व्यवस्थापन प्रणाली खासगरी नालाको निकास राम्रो नहुने हो भने त्यो समाधान पनि दिगो हुन नसक्ने अवस्था छ । त्यसैले पनि फोहोर व्यवस्थापन र बिसर्जित स्थलको खोजी दुबै फैलने क्रममा रहेको व्यास नगरपालिकाका लागि अपरिहार्य छ ।
अहिले चर्चामा आएको आयोजनाले फोहोर बिसर्जनको स्थल खोज्ने भन्दा पनि अहिले विद्यमान नालाको प्रणाली र हुँदै नभएको सेफ्टी ट्यांकको फोहोर प्रसोधनको काम थाल्ने हो ।