तनहुँ हाइड्रोको सकारात्मक कदम

प्रत्यक्ष प्रभावितलाई रोजगारीका लागि प्रारम्भिक पहल गर्ने तनहुँ जलविद्युत आयोजनाको कदम सकारात्मक छ । झण्डै डेढ दशकयता चर्चामा रहिआएको आयोजनाको कामसँग प्रभावित जिल्लावासीको मुख्य चासो जोडिएको विषय रोजगारी पनि हो । यससँग विविध पाटोमा समेत नागरिकको चासो भए पनि आम नागरिक र युवाले आयोजनाको काम चाँडो शुरु भएमा रोजगारी पाउन सक्ने आशा पालेका छन् । आयोजनाबारेका खबर जसै स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा पढ्न थाल्छन्, उनीहरुमा आशाको सञ्चार हुन्छ । आयोजनाका स साना खबरमा पनि चासो र चर्चा चल्नु सायद त्यसैको द्योतक हो । आफ्नो ठाउँमा ठूलो विकासका काम हुँदा त्यसमा आफू पनि समाहित भएर योगदान दिने र आफूलाई समेत सबल पार्ने चाहनालाई कसैले खराब भन्न सक्दैन । आयोजनाका लागि पनि आखिर जनशक्ति आवश्यक नै पर्छ । त्यस्तोमा प्रभावित स्थानीयलाई नै रोजगारी दिन सकिए त्यो आयोजनाका लागि पनि रामै्र हुन्छ । यस्तोमा अहिलेसम्म खट्किएको अभाव भनेको दक्ष जनशक्तिको जोहो नै हो । आयोजनाका लागि प्राविधिक जनशक्तिको माग बढि हुने कुरा विज्ञहरुबाट बेला बेला आउने गरेको छ । यस्तोमा समयमै आवश्यक प्राविधिक जनशक्ति तयार पार्नका लागि तालिम जरुरी पर्छ । र, यसमा आयोजना आफै तात्नु भनेको सकारात्मक कदम हो । आयोजनाको मात्र भर नपरी सम्भावित आवश्यक प्राविधिक जनशक्तिबारे जानकारी राखेर नागरिक आफै पनि आफूलाई तयार राख्न सक्ने हो भने आवश्य नै जिल्लाले बढी राहत पाउन सक्दछ । यसतर्फ नागरिक तहमा चासो बढ्नु पनि आवश्यक छ ।