तनहुँसुरको पर्यटकीय विकास सम्भावना

जिल्लाकै ऐतिहासिक एवं सांस्कृतिक सम्पदाले धनी तनहुँसुर क्षेत्र अहिले ओझेलमा छ । बाईसे चौबिसे राज्यकालमा देशको सामरिक केन्द्रका रुपमा रहेको शक्तिशाली तनहुँसुरको वैभव त्यसपछिका केही दशकहरुसम्म कायमै रह्यो । नेपालको एकीकरणपछि गोरखा राज्यमा विलिन भएको तनहुँसुरले सामरिक महत्व गुमाएपनि पहिलेका बेला बसेको जगका आधारमा त्यसपछिका केही बर्षसम्म अझै तनहुँसुरले आफूलाई केन्द्रमै राखेको थियो । सामरिक हिसाबले कमजोर बनेको तनहुँसुरले खासगरी २००७ सालको क्रान्तिपछिका दिनहरुमा दमौलीमा बजार विस्तार हुँदै गएपछि सांस्कृतिक परम्परालाई जोगाउँदै आएका नेवार समुदायको ठूलो हिस्सालाई पनि गुमाउन पुग्यो । र, अझ दमौली सदरमुकाम नै भएपछि त त्यो क्रमले झनै गति लियो । अहिलको दमौलीका स्थायी बासिन्दामध्ये तनहुँसुर मूलथलो भएकाहरुको संख्या अधिक छ । २००७ सालको क्रान्ति अघि रहेका बौद्धिक, शक्तिशाली र देशकै राजनीतिमा प्रभाव राख्नेहरु त पलायन भएकै थिए, बाँकी संस्कृति जोगाउँदै बसेका समुदाय पनि पलायन बनेपछि जर्जर र सुनसान बन्न पुगेको तनहुँसुरको विकासका लागि त्यहींका मूलथलोबासीले पहल थालेका छन् । हाल दमौलीमा बसोबास गर्दै आएका उनीहरुले गठन गरेको तनहुँसुर–दमौली सम्पर्क मन्चका पछिल्ला सक्रियता हेर्दा साँच्चि नै उनीहरुले त्यहाँको विकास चाहेका हुन् भन्ने पुष्टि हुन्छ । यससंगै गैरसरकारी र व्यक्ति–व्यक्तिहरुको संस्थाले सो क्षेत्रको उनीहरुकै शब्दमा ‘वृहत्तर’ विकास कसरी सम्भव होला भन्ने प्रश्न पनि उब्जिएको छ ।
 
मन्चले तनहुँसुरको ऐतिहासिक पर्यटनका अलावा अग्र्यानिक भिलेज र जैविक खेती प्रबद्र्धन गर्ने भनेर योजना बनाएको छ । यसका आलावा विभिन्न निकायसंगको सहयोगमा पूर्वाधार निर्माणमा जोड दिंदै तनहुँसुरलाई छुट्टै स्वादको पर्यटकीय गन्तव्य बनाउने भनिएको छ । सुन्दा योजनाहरु सबै राम्रा छन् र आकर्षक पनि । तर यसको कार्यान्वयनका लागि धेरै चूनौति पनि छन् । यदि विकासका लागि साँच्चिकै प्रतिबद्ध हुने हो भने ति सबैलाई झेल्न सक्ने सामथ्र्य मन्चसंग हुनै पर्दछ । तनहुँसुरमै जन्मिएर देशको नीति निर्माण तहमा पुगेका र तनहुँसुरकै आसपासमा हुर्किएका थुप्रै विशिष्ट व्यक्ति देशले नपाएको हैन । अनि दमौलीमा समृद्धशाली ठानिनेहरु धेरै तनहुँसुरकै पाखा पखेरामा हुर्केका पनि छन् । यदि साँच्चिकै तनहुँसुरको विकासका लागि काम गर्ने हो भने सरकारी र गठित तनहुँसुर–दमौली सम्पर्क मन्चले आ–आफ्नो तहबाट हुनसक्ने विकास काम थाल्नुपर्नेछ । त्यसका लागि सरकारलाई दबाव दिन पनि मन्चले आफैं केही गरेर देखाउनु आवश्यक छ । त्यसैगरी नीति निर्माण तहमा रहेका वा रहिसकेकाहरुको प्रभावको समेत उपयोग गरेर चारैतिरको शक्ति प्रयोग गर्ने हो भने ऐतिहासिकता, सांस्कृतिक र प्राकृतिक सम्पदाले धनी तनहुँसुरले पर्यटनका क्षेत्रमा छुट्टै पहिचान बनाउने सम्भावना छ । यसका लागि केही बर्ष खट्नसक्ने दृढ ईच्छाशक्ति भएको नेतृत्व भने आवश्यक छ ।