सदुपयोग गरे फेसबुकको उपयोगिता

२१ औं सताब्दी सूचना र प्रविधिको समय हो । यस समयमा सूचनालाई शक्ति ठानिन्छ भने प्रविधिलाई साधन । यसै सूचनालाई प्रविधिका माध्यमबाट उपयोग र प्रसारबाट नै विश्वले प्रगति गरिरहेको छ । सामाजिक सञ्जाल पनि सूचनालाई एक आपसमा साझा गर्ने साधन हुन् । विश्वमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकलाइ मानिन्छ । धेरैले यसलाई रमाईलो र समय बिताउनका लागि प्रयोग गरे पनि वास्तविक महत्व बुझ्ने हो भने यसले सूचनालाई धेरै मानिसको पहुँचमा पु¥याउन, मनका भावना फैलाउन तथा श्रृजना प्रसारको मञ्चका रुपमा लिन सकिन्छ । यस आधारमा भन्ने हो भने सामाजिक सञ्जाल फेसबुकलाई सशक्त सामाजिक सञ्जाल भन्न सकिन्छ । यसले विकृति ल्याइरहेको चर्चा भैरहँदा फेसबुककै कारण कतिपय रचनात्मक काम पनि भैरहेका छन् । यसका एकाध उदाहरण हामीमाझ छन् । म्याग्दे गाउँपालिकाका दुई युवा क्लबले मृगौला तथा मुटु रोगीको उपचारार्थ आर्थिक सहयोगको ठूलो हिस्सा फेसबुकबाट संकलन गरेबाट यसलाई सकारात्मक काममा सदुपयोग गर्ने हो भने धेरै लाभ लिन सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ । गलत कुरालाई प्रचार गर्न वा गलत काममा यसको प्रयोग पनि भएको सत्य हो । तर प्रयोगकर्ताले विवेक लगाउने हो भने फेसबुक असल पनि बन्न सक्छ भन्ने यी घटनाले प्रमाणित गरेका छन् । आम सञ्चारले सबैका भावना समेट्न नसकेका बेला सामाजिक सञ्जालको उपयोग भैरहेको छ । आजकल आम सञ्चारका माध्यमले पनि जनताको भावना बुझ्नका लागि यो सञ्जालको प्रयोग गर्नुले पनि यसको उपयोगितालाई पुष्टि गरेको छ । यसर्थ प्रयोगकर्ताले नकारात्मक पाटोलाई कम गर्दै सकारात्मक प्रयोगका लागि सामाजिक सञ्जाल चलाउने हो भने यसले समाजलाई फाइदा गर्ने निश्चित छ ।