व्यास नगरको विकास र समृद्धिबारे बहस

 
रबिन पौडेल
लामो समय पछि सम्पन्न जन प्रतिनिधिको निर्वाचन पश्चात् नागरिक तहमा विकार र समृद्धिले गति लिने आशा सञ्चार भएको छ । व्यास नगर कार्यपालिकाको निर्वाचन पश्चात् दोस्रो नगरसभा हुँदैछ । नगरसभाको पूर्वसन्ध्यामा व्यास नगरपालिकाको विकास र समृद्धिका बारेमा केही विषयवस्तुको उठान गरी चर्चा गर्नु र प्रतिक्रिया तथा सुझावको अपेक्षा सहित पंक्तिकारले यो लेखमा उठाइएका विषयवस्तु बहसको विषय बनोस् र उचित लागेमा कार्यान्वयनको दिशा तर्फ उन्मुख होओस् भन्ने धेयका साथ सार्वजनिक महत्वका केही योजना प्रस्तुत गरेको छु ।
 
पर्यटन तथा आर्थिक विकासका सम्बन्धमा
 
कृत्रिम तालको अवधारणा
व्यास नगर पर्यटकिय र आर्थिक विकासका हिसाबले प्रशस्त सम्भावना बोकेको नगर हो भन्नेमा सायदै विमति होला तर निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल र पर्यटकिय शहर पोखराबाट ५० किलोमिटरको दुरीमा रहेको यस नगरको पर्यटकीय सम्भाव्यतालाई साकार पार्न केही पुर्वाधार निर्माण पनि आवश्यक रहेको छ ।
 
कृत्रिम फेवाताल निर्माण गरी पर्यटकिय शहरको परिचय बनाएको पर्यटकिय नगरी पोखराको सिको गर्दै हिमश्रखंलाको समेत दृश्यावलोकन गर्न सकिने मादी नदी पुलको आडमा अर्को अत्याधुनिक पुल निर्माणको चरणमा रहेको हुँदा भतेरीको जग्गालाई केही उचाईमा उठाएर मादी नदीलाई तालको रुपमा रुपान्तरण गर्न सके यस क्षेत्रको पर्यटनमा यो पुर्वाधार निर्माण कार्य कोशेढुङ्गा सावित हुनेछ । यसै योजनाका विषयमा विगतमा अध्ययन भए पनि मूर्तरुप पाउन नसकेको अवस्थामा अब यस एजेण्डालाई प्राथमिकतामा राख्न ढिलाइ गर्नुहुँदैन । साथै १०८ फिट उचाईको बेदव्यासको मुर्ति निर्माण कार्य कहाँ गर्ने भन्ने अन्यौल कायमै रहेको अवस्थामा सो मुर्ति पृथ्वी राजमार्गबाट देख्न सक्ने स्थानमा राख्न सके पर्यटन प्रर्वद्धनमा थप सहयोग हुनेछ । यस्का लागि साँगामा रहेको महादेवको मन्दिरलाई उदाहरणका रुपमा लिएर अध्ययन गर्न सकिनेछ । यस क्षेत्रमा मुर्ति निर्माणका लागि सवैभन्दा उपयुक्त स्थल मानुङ्ग हुनसक्छ ।
 
मानुङ्गबाट प्याराग्लाइडिङ
मानुङ्ग प्याराग्लाइडिङ तथा दृश्यावलोकनका लागि समेत सम्भावना बोकेको गन्तव्य हो तर टावर स्थानान्तरण गर्ने सामान्य विषयवस्तुमा अल्झिएर सफल टेष्ट फ्लाईट सम्पन्न भएको लामो समय सम्म पनि ओझेलमा परिरहेको छ । अहिले सडक मार्फत् मानुङ्ग जोडिए पछि दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । यस्को सम्भावनालाई उजागर गर्न सडक स्तरोन्नती र पानीको प्रबन्ध तत्काल गरिएन भने पर्यटनको क्षेत्रमा व्यास नगरले क्षति व्यहोर्ने छ ।
 
पर्यटनको क्षेत्रमा पछिल्लो समयमा आकर्षण देखिएको क्षेत्र होम स्टे र पदयात्रा हो । व्यास नगरमा यस्ता सम्भावना भएका र पुर्वाधार समेत निर्माण भइसकेका तर प्रचारका कारण पछाडी परेका थुप्रै गन्तव्यहरु छन् अव तिनको प्रचारका निम्ति नीति तथा योजना निर्माण गर्नुपर्ने आवश्यकता पनि खड्किएको छ ।
 
पर्वतारोहण र पदयात्रा वाहेकका पर्यटकिय गन्तव्यमा विदेशी भन्दा पनि आन्तरिक पर्यटकको योगदान वढी रहेको अध्ययनहरुले पुष्टि गरिसकेको छ । कुनै समय नेपाली पर्यटकलाई स्वागत गर्न नचहाने नेपालका प्रशिद्ध पर्यटकिय गन्तव्यहरुमा अहिले आन्तरिक पर्यटक प्रिय बनेका छन् जस कारण यस नगरले पनि कम मेहनतमै आन्तरिक पर्यटक भित्र्याउने सम्भावना प्रवल छ ।
 
धार्मिक पर्यटन र जलविहार
चारवेद र अठार पुराणका रचयिता बेदव्यासको जन्म तथा कर्मभूमिलाई धार्मिक पर्यटनको रुप दिन सके त्यसबाट सिङ्गो नगरले लाभ लिन सक्ने प्रचुर सम्भावना छ भने लामो समय जलविहार गर्न सकिने वार्म रिभरको रुपमा परिचित मादी सेती नदीमा पोखराबाट सञ्चालित कायकिङ तथा राफ्टिङ स्थानिय स्तरबाट पनि सञ्चालन गर्न सकिन्छ । यस्का अलावा नदीमा माछा मार्ने पुरानो प्रविधि (सम्भवत यस्को नाम किट÷किपट हुनुपर्दछ र माझी तथा बोटे जातीले यस प्रविधिको आविश्कार गरेको भनिएको छ र यो प्रविधि पुरानो मात्र नभई उत्कृष्ट भएको मानिने रहेछ ) को मादीमा प्रयोग गरेर यहाँको संस्कृति र सभ्यतालाई भावि पुस्ताका लागि समेत जोगाउनु पर्दछ ।
 
आर्थिक विकासका लागि कृषि नीति
अधिकांश पहाडी जिल्लाहरु झैं तनहुँका पनि अधिकांश जग्गाहरु वाँझो भइसकेका छन् । नीतिगत रुपमै वाँझो जग्गा राख्न नपाउने÷राखे अत्यधिक कर तिर्नुपर्ने जस्ता नीति अवलम्बन गर्दै युवा तथा समुह लक्षित खेती प्रणाली अवलम्बन गरी उत्पादनको क्षेत्रमा संवेदनशिल हुन पनि अत्यावश्यक भैसकेको छ । आमा तथा अन्य समुहमा आबद्ध महिलाहरुले सामुहिक रुपमा पेशा अंगालेका दृष्टान्त यस नगर भित्रै पनि थुप्रै रहेका छन् । त्यस्ता समुहलाई प्रर्वद्धन गर्दै युवाहरुलाई पनि प्रोत्साहन गर्न सके आर्थिक विकासले गती लिन धेरै वेर लाग्ने छैन यो संगसंगै व्यास नगरमा वित्तिय संस्थाहरुसंगको छलफलमा  कृषि तथा व्यापारिक प्रयोजनका लागि ऋण लिने/दिने प्रकृयालाई सरलिकरण गर्नुपर्ने आवश्यकता पनि उत्तिकै टड्कारो देखिएको छ ।
 
ट्राफिक र वजार व्यवस्थापन
नक्शांकनका हिसाबले उत्कृष्ट मानिने दमौली बजार अहिले अस्तव्यस्त ट्राफिकका कारण सवारी आवगमनमा अवरोध हुन पुगेको छ । सामान ढुवानीमा प्रयोग हुने ठुला सवारी साधनहरुले सडकमा पार्किङ्ग गर्ने गरेका कारण यस्ता साधनहरुको पार्किङ्गका विषयमा नीति बनाउनु ढिला भइसकेको छ । साथै, नीजि सवारी साधनहरुका लागि पनि नगरपालिका वा समन्वय समिति मातहतका खाली जग्गाहरुमा सशुल्क पार्किङ्गको व्यवस्था गर्नुपर्ने आवश्यकता देखा परेको छ, यसका लागि एउटा सम्भावना महेन्द्रको शालिक रहेको पार्कलाई लिन सकिन्छ । न्युन शुल्कमा नर्सरीलाई प्रयोग गर्न दिइएको यस स्थानमा पार्किङ्ग स्थल निर्माण गरी आम्दानी समेत लिन सकिने सम्भावना रहेको छ । 
 
पृथ्वी राजमार्गको भोर्लेटार चोकको सडक खण्डमा सवारी चाप अध्यधिक रहेकोले भोर्लेटार चोकबाट व्यास नपाका केही वडा सहित लम्जुङ्ग आवत÷जावत गर्ने सवारी साधनलाई वान वे बनाएर सवारी चाप घटाउनुपर्ने देखिएको छ । अर्को बाटोको रुपमा मादी नदी पुलबाट बैरेनी जोडिएको कच्ची सडकको स्तरोन्नती गरी सो बाटोलाई पनि विकल्पको रुपमा प्रयोगमा ल्याउन सजिलै सम्भव रहेको छ ।
 
दमौली बजारमा रहेको तरकारी लाईन संधैजसो अस्तव्यस्त र फोहोर देखिने गरेको छ । हाल रहेको तरकारी लाईन सहित फुटपाथमा राखिने तरकारी तथा फलफुललाई कर्मचारी आवासको रुपमा प्रयोगमा आएको जिल्ला समन्वय समितिको जग्गामा स्थानान्तरण गर्न सके बजार पनि सुन्दर बनाउन सकिने अवस्था रहेको छ । 
rantabish475@gmail.com 
(लेखक व्यास नगरपालिकाको नगरसभा सदस्य हुन् ।)