किशोरलाई मार्गदर्शन जरुरी

दमौलीमा केही समययता विद्यालय पढ्ने उमेर समूहका किशोरहरु खुकुरी प्रहारजस्तो हिंसात्मक झडपका घटनामा संलग्न पाइएका छन् । कलिलै उमेरमा हिंस्रक प्रवृत्तिका घटनामा उनीहरुको संलग्नता अभिभावक, विद्यार्थी तथा समग्र बजारवासीका लागि चुनौतीको कुरा हो । पढ्ने उमेरमा असल अभिभावकत्वको अभावका कारण राम्रोसँग त्यसको असरबारे जानकार नभएका किशोर किशोरीको समूह यस्ता गतिविधिमा संलग्न भएका हुन् । असल भविष्यका लागि अभिभावकले कुशल अभिभावकत्वका साथै असल मार्गदर्शन दिएमा मात्र उनीहरु खराब संगत अनि हिंस्रक विचारबाट मुक्त रहन सक्छन् । विद्यालयको पाठ्क्रममा रहेका विषयवस्तुबाहेक उनीहरुलाई असल मार्गदर्शन गर्नका लागि विद्यालय तथा अभिभावकले विशेष पहल गरे मात्र यस्तो खतरनाक स्थितीबाट बालबालिका तथा किशोरलाई बाहिर ल्याउन सकिन्छ । यसर्थ समयमै समाजका सबै पक्षले यसतर्फ ध्यान दिएर दमौलीलाई सुरक्षित राख्नु जरुरी छ । अन्यथा विगतका जस्तै डरलाग्दा घटना नहोलान् भन्न सकिन्न ।