फुटपाथ व्यवसायी सम्पर्कमा आएनन्

दमौली  । दमौली बजारमा फुटपाथ व्यवस्थापनका लागि बजार एकाइले बोलाएको छलफलमा फुटपाथ बजार समितिका प्रतिनिधिले रुचि देखाएका छैनन् । हाल सफासडक तथा मुख्य राजमार्ग आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यवसायीहरुलाई विकल्प दिएर प्रतिस्थापित गर्ने विषयमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिले प्रयास गर्दै आएको छ । एकाइ सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले आफूहरुले मंगलबारका लागि छलफलको तयारी गरे पनि व्यवसायी प्रतिनिधि सम्पर्कमा नआएकाले पुनः उपस्थितीका लागि पत्र काटिएको बताए । ‘हामीले विकल्प दिएरै फुटपाथ व्यवस्थापन गर्न लागेका हौं,’ श्रेष्ठले भने ।
 
फुटपाथमा व्यापार व्यवसाय हुँदा समस्या भएको भन्दै उनले यदि विकल्प प्रदान गरेर फुटपाथ हटाउँदा व्यवसायीलाई पनि राहत मिल्ने बताए । एकाइले तत्कालका लागि जिल्ला समन्वय समितिको आवासगृहको छेउमा रहेका ठाउँमा व्यापार व्यवस्थापन गर्ने र पछि आवासगृह क्षेत्रभित्र नै ट्रस्ट खडा गरेर व्यवसाय सञ्चालन गर्न दिने गरी कार्ययोजना बनाएको छ । यसका लागि व्यवसायी समितिका प्रतिनिधिहरुसँग छलफल गरिएको श्रेष्ठले बताए ।