हुलाकका कर्मचारीको नगर सदस्य पद गुम्यो

दमौली  । अतिरिक्त हुलाकका कर्मचारी भएको खुलेपछि भानु नगरपालिकामा कार्यरत एक कर्मचारी नगर सभा सदस्य पदबाट निलम्बित भएका छन् । नगरपालिकाको वडा नम्बर १२ का तर्फबाट वडा सदस्यमा निर्वाचित बुद्धिराम थापा अतिरिक्त हुलाकका सदस्य रहेको भन्दै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द ढकालले उजुरी दिए पछि उनको पदलाई निर्वाचन उच्च अदालतले खारेज गरिदिएको थियो । उनी अझै पनि बयापानी अतिरिक्त हुलाकमा कर्मचारी रहेको खुलेको छ । थापा नेकपा एमालेका तर्फबाट सदस्य पदमा विजयी भएका थिए ।
   
अदालतले भानु नगर पालिकालाई पठाएको पत्रमा थापाको पद निलम्बन गर्दै उनको ठाउँमा प्रत्यासी ढकाललाई नियुक्ति दिनका लागि सिफारिस गरेको थियो । अदालतको पत्र आएसँगै भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले ढकाललाई पद तथा गोपनियताको सपथ दिलाएका छन् ।