इहिमा हराएकी बालिका भेटिइन्

दमौली  । सामूहिक बेल विवाह (इहि)का क्रममा हराएकी एक बालिका भेटिएकी छन् । दुर्गा भवानी मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालित बेल विवाहका क्रममा सहभागी हुन पुगेकी साँगेकी सात वर्षिया सम्झना श्रेष्ठ बेपत्ता भएकी थिइन् । आफन्तले बालिका हराएको गुनासो गरे पछि प्रहरी खोजीमा सक्रिय भएको थियो । खोजीका क्रममा ती बालिकालाई लिएर हिंड्दै गरेको अवस्थामा कास्की थुम्कीका रमेश थापालाई प्रहरीले पक्रेको हो ।
 
प्रहरी नियन्त्रणमा रहेका थापाले बालिका एक्लै देखेपछि आफन्तको खोजीका लागि लिएर हिंडेको बयान दिएका छन् । प्रहरी नायब निरीक्षक मनोज पाण्डेले थापामाथि अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।
 
उता, नवदुर्गा भवानी मन्दिर संरक्षण समितिको अयोाजनामा सञ्चालित बेल विवाहमा ६९ कन्याहरुले सामुहिक रुपमा बेल विवाह गरिएको छ । नेवारी संस्कारका विभिन्न संस्कार मध्ये गुफा राख्ने र बेल विवाह परम्परा नेवारी हिन्दु संस्कृतिमा छ ।
 
नवदुर्गा भवानी मन्दिर संरक्षण समितिका अध्यक्ष जितबहादुर श्रेष्ठले हरेक वर्ष बेलविवाह गरिंदै आएको बताए ।