राष्ट्रिय सभामा दिनानाथ र खेमबहादुर विजयी

दमौली । राष्ट्रियसभा चुनावको प्रदेश ४ को मतगणना शुरु भएको छ । यो समाचार तयार पार्दासम्मको पछिल्लो मतपरिणाम अनुसार दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जीतबहादुर नेपालीलाई हराउँदै जित पाएका हुन् । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे । यसैगरी खुलातर्फ माओवादी केन्द्रका दिनानाथ शर्मा पनि विजयी भएका छन् । 
 
क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मतगणना गरिएको हो । खुल्ला तर्फ वाम गठबन्धनबाट खुला सदस्यमा पर्वतका गणेश तिमिल्सिना, बागलुङका दिननाथ शर्मा, नेपाली कांग्रेसका गोरखाका सुरेन्द्र पाण्डे र राष्ट्रिय जनमोर्चाबाट खुलामा कृष्ण अधिकारी प्रतिस्पर्धामा छन् ।
महिलातर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली कांग्रेसबाट कास्कीकी वृन्दा राना र राष्ट्रिय जनमोर्चाकी मीना पुन चुनावी मैदानमा छन् । अपांगतातर्फ भने यसअघि नै तनहुँका प्रकाश पन्थ सर्वसम्मत निर्वाचित भैसकेका छन् । उनी कांग्रेसका उम्मेदवार थिए । स्थानीय तहका १ सय ७० जनाको ३ हजार ६० मतभार र प्रदेश सभा सभासद् ५९ जनाको २ हजार ८ सय ३२ मतभार रहेको छ ।
 
मनाङेको न सपथ न मतदान
 
प्रदेश ४ को राष्ट्रिय सभा सदस्य चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता रहेको सो प्रदेशमा १ जना मतदाता अनुपस्थित भएका छन्। अनुपस्थित हुने मतदाता मनाङबाट प्रदेश सभा सदस्यमा निर्वा्चित दीपक मनाङे 
हुन् । प्रदेश सभा सदस्यको सपथ पनि नलिएका मनाङे राष्ट्रियसभा चुनावमा पनि अनुपस्थित भएका हुन् ।
 
१० बजेदेखि सुरू भएको निर्वानचनमा मनाङे बाहेक अन्य २२९ जना मतदाताले १ बजे नै मतदान गरिसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले बताए । निर्वाचन आयोगका अनुसार मनाङेले मतदान गर्न सपथ लिनुपर्ने हुन्छ ।
 
४ नम्बर प्रदेशसभाका विजयी सदस्य मनाङेलाई सर्वोच्च अदालतले माघ पहिलो साता 
पाँच वर्ष जेल सजाय सदर गरेको थियो ।