नृत्यमा दमौली पब्लिक उत्कृष्ट

दमौली  । एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा सञ्चालित अन्र्तविद्यालय नृत्य प्रतियोगितामा दमौली पब्लिक स्कूलको समूह प्रथम भएको छ । कुल २७ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा दमौली पब्लिकले उत्कृष्ट नृत्य पस्कँदै विजेता बनेको हो । प्रतियोगितामा न्यू मनकामना बोर्डिङ स्कूल भादगाउँ दोश्रो तथा तनहुँ ज्ञानगंगा बोर्डिङ तेश्रो भएका छन् । यसैगरी आदर्श विद्यागृहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट कोरियोग्राफरको उपाधि सर्जन थापाले प्राप्त गरेको एनप्याब्सनले जनाएको छ ।
 
प्रथमले नगद पुरस्कार १० हजार रुपैयाँ, दोश्रोले सात हजार, तेश्रोले पाँच हजार तथा सान्त्वनाले तीन हजार पुरस्कार प्राप्त गरेको एनप्याब्सनका अतिरिक्त क्रियाकलाप संयोजक विश्वास केसीले जानकारी दिए ।
 
विजेतालाई जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले पुरस्कार वितरण गरेका थिए । एनप्याब्सनका जिल्ला अध्यक्ष रामकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक केन्द्रीय महासचिव एवं जिल्ला समन्वय समितिका सदस्य अर्जुनबहादुर अधिकारी, निर्वतमान महासचिव तिलकबहादुर चौहान, केन्द्रीय सदस्य सहदेव अधिकारी, प्रदेस नम्बर ४ सहसचिव प्रदीपराज अधिकारी, उप कोषाध्यक्ष प्रेमबहादुर राउत, विपिन श्रेष्ठ, किशोर गुरुङ, विश्वास केसीलगायतले बोलेका थिए ।