बन्दीपुरको संस्कृति जोगाउन भ्रमण

दमौली । तनहुँको बन्दीपुरका जनप्रतिनिधि तथा व्यवसायीले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाको अध्ययन अवलोकन गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार एकाइको आयोजनामा बन्दीपुरका सबै वडाका वडाअध्यक्ष, गाउँपालिका प्रमुख तथा बजारका व्यवसायी सम्मिलित टोलीले शुक्रबारदेखि आइतबारसम्म काठमाडौं, भक्तपुर तथा ललितपुरका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका हुन् ।
 
सांस्कृतिक पर्यटकीय हिसाबले धनी बन्दीपुरको संस्कृति जोगाउन जागरुकता ल्याउन तथा नीति नियमका लागि जानकारीस्वरुप भ्रमण गरिएको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार एकाइ सभापति बैश गुरुङले बताए ।
 
भ्रमणमा सहभागीले काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा पर्यटन व्यवसायी भरत बस्नेतसँग अन्र्तक्रिया गरेका थिए । भेटका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भूकम्पपछिको पुननिर्माण तथा नगरपालिकाले थालेका विकास योजनाहरुबारे जानकारी दिएका थिए । भ्रमणका क्रमममा भक्तपुर नगरपालिकाले व्यवस्थापन गरिरहेको ख्वप इञ्जिनियरिङ कलेज, शारदा क्याम्पसलगायतको पनि अवलोकन गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख खड्गीले संस्कृति जोगाएर धेरै लाभ   लिन सकिने भन्दै बन्दीपुरलाई संस्कृति जोगाएर नमूना बन्न शुभकामना दिइन् । गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले भ्रमण सांस्कृतिक पर्यटनका आयाम सिक्नका लागि उपयोगी भएको बताए । उनले भ्रमणका सिकाइहरु व्यवहारमा उतार्ने बताए । पर्यटन व्यवसायी बस्नेतले बन्दीपुरले संस्कृति जोगाउन सके मात्र गुणस्तरीय पाहुना भित्र्याएर प्रशस्त धनआर्जन गर्न सक्ने बताए । 
 
टोलीले पर्यटन बोर्डका अधिकारी तथा बन्दीपुर सामाजिक विकास समितिका अधिकारीहरुसँग अन्र्तक्रिया गर्दै बन्दीपुरको वृहत्तर विकासका लागि सघाउन आग्रह गरेको थियो ।