विकासमा ढिलाइ नगरौं

देशमा स्थानीय तह निर्वाचन सकिए पछि हालै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनसमेत सम्पन्न भैसकेको छ । संविधान निर्माणको ठूलो कार्यभार पुरा भए पछि हालै देशमा स्थानीयदेखि प्रदेस र संघीय सरकार बनाउन पनि दलहरु सफल भएका छन् । अब यसपछिको देशको कार्यभार भनेको विकास नै हो । विकास र समृद्धि जनताले लामो समयदेखि अपेक्षा गरेको विषय पनि हो । विकासको कुरा गर्ने हो भने एकातिर बजेटको अभाव अथवा कमजोर आर्थिक श्रोतका कारण देशले सोचेजस्तो विकास गर्न सकेन भने र सरकारी अधिकारीहरुले भन्ने गरेका छन् । तर हाम्रा विगतका खर्चहरुको स्थिती हेर्ने हो भने सरकार विकास बजेटको ठूलो हिस्सा खर्च गर्न असफल भएका छन् । हामी पैसा नपुगेको भन्छौं तर पैसा खर्च गर्ने सामथ्र्य हामीसँग कमजोर छ । अझ देशको बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्त्यमा खर्च हुने गरेको तथ्यांक पनि हामीसँगै छन् । यसले पनि हामी कमजोर अवस्थामा रहेको देखाउँछ । यो तथ्यांक देशको राष्ट्रिय बजेटको भए पनि यसमा स्थानीयस्तरको हात पनि ठूलो छ । स्थानीय सरकारले समयमै काम गर्न नसक्नुले पनि समग्रमा देशैभर प्रभाव पार्ने गर्दछ । तनहुँमा पनि बजेट असार मसान्तमा खर्च हुने रोग पुरानै हो । यसबाट हामी अझै मुक्त हुन सकेका छैनौं । यस वर्षबाट लामो समयको रिक्ततापछि स्थानीय सरकार बनेकाले स्थितीमा परिवर्तन आउने आशा धेरैको छ । तर आशाअनुसार खर्च भएको अवस्था सुनिएको छैन । समयमा नतातेको भनेर कर्मचारीलाई दोष लगाएर उम्कने छुट अब राजनीतिक नेतृत्व अझ भनौं स्थानीय सरकारका प्रतिनिधिलाई छैन । समयमै काम गरेर विकासलाई गुणस्तरीय बनाउने र छुट्टिएका बजेट समयमै खर्च गर्ने मामिलामा स्थानीय सरकारको जिम्मेवारी झनै बढेको छ ।