दमौलीमा २३ करोडको सभाहल

दमौली  । भत्किएको दमौली सभागृहको विकल्पमा नयाँ भवन निर्माण थालिएको छ । २३ करोड ६३ लाख ४१ हजार रुपैयाँमा भवन निर्माण कार्यालयले बनाउन थालेको भवनको नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले शिलान्यास गरे । उनले दमौलीका सम्भावित पर्यटकीय संभावनालाई खोजी गर्दै विकास गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको पुरानो जिल्ला सभा गृह जीर्ण बनेपछि विकल्पका रूपमा आधुनिक सुविधासम्पन्न नयाँ सभागृह निर्माण थालिएको हो । निर्माण शुरु सभागृह पार्किङ सुविधासहितको हुनेछ । 
 
सात सय ५० अट्ने ठूलो तथा एक सय ५० सिटको अर्को वैठक कक्ष हलमा हुनेछ । अपांगतामैत्री हल जिल्लाकै आधुनिक र सुविधासम्पन्न हुने भवन निर्माण कार्यालय गोरखाका अधिकारीहरुले जनाएका छन् । 
 
शिलान्यास कार्यक्रममा सांसदहरु केदार सिग्देल,  कृष्णकुमार श्रेष्ठ र वृन्दा राना, पुर्व सांसद रामचन्द्र पोख्रेल, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए । 
 
जिल्ला समन्वय समिती प्रमुख शान्तिरमण वाग्लेले दमौलीका लागि सुविधासम्पन्न हल बन्नु गौरवको कुरा भएको भन्दै थप पुर्वाधार विकासमा लाग्ने बताए ।