दमौलीमा २९ करोडमा मल्टिप्लेक्स बन्दै

 
दमौली
सपिङका लागि पोखरा वा काठमाडौं धाउँदै हुनुहुन्छ ? दमौलीमा ठूला सपिङ मल नभएका कारण चाहेजति छनोटका सामान किन्न नपाएको गुनासो गर्ने उपभोक्ताहरुलाई लक्षित गर्दै सुविधासम्पन्न मल्टिप्लेक्स मल निर्माण शुरु भएको छ ।
 
नेपाल बैंक लिमिटेडको जग्गा खरिद गरेको व्यापारीहरुको समूहले कालिका मार्गमा एपेक्स मल्टिप्लेक्स निर्माण थालेको हो । राजधानी तथा पोखरामा रहेको क्युएफएक्स वा यस्तै चेन शैलीको आरामदायी चलचित्रघर सहितको मल्टिप्लेक्समा घरायशी किचनका सामग्रीदेखि लत्ताकपडा र ब्राण्डेड आइटमसम्म राख्ने तयारी कम्पनीको छ । 
 
 
हालै निर्माण थालिएको एपेक्स मल्टिप्लेक्स २७ आना क्षेत्रफलमा तयार हुने प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बताए । ‘दमौलीका लागि यो पहिलो प्रयोग हो,’ उनले भने । झण्डै २९ करोड लागत अनुमान गरिएको मल्टिप्लेक्सको काम अबको दुई वर्षमा सक्ने कम्पनीको योजना छ । हालै जग्गा खारेर निर्माणको तयारी थालिएको श्रेष्ठले बताए ।
 
छ तल्लाको भवनमा भूमिगत पार्किङको व्यवस्था गर्न लागिएको छ । यसका लागि नगरपालिकाबाट नक्शा पास गरेर काम अघि बढेको उनले बताए ।
 
दमौली बजारमा यसरी लगानी भित्रनुलाई बजारबासीले सकारात्मक मानेका छन् ।
 
लगानीकर्ताहरुले पनि दमौली र आसपासको घनावस्ती अनि फैलँदो जनघनत्वलाई लक्षित गरेर लगानी गर्न लागेको बुझिएको छ । ‘दमौलीमा यसखालका संरचना पनि नभएको र ग्राहकको चहलपहल पनि भएकाले लगानीका लागि रोजिएको हो,’ प्रबन्ध निर्देशक श्रेष्ठले भने । 
 
व्यास नगरपालिकाले आफ्नै लगानीमा निर्माण थालेको बहुउद्देश्यीय व्यापारिक भवन पनि आगामी वर्षबाट सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ठूला खालका यस्ता भवन एकैसाथ निर्माणमा भएको बढोत्तरीले बजारमा व्यवसायिक चहलपहल बढाउने अपेक्षा गरिएको छ ।