महिला सुरक्षा बढाऔं

विभिन्न अध्ययनहरुले के देखाएका छन् भने महिलामाथि हुने यौन हिंसामा मुख्यगरी अपरिचित व्यक्ति, कार्यालयका सहकर्मी, नाता पर्ने बढी जिम्मेवार देखिएका छन् । पारिवारिक पृष्ठभूमि, कमजोर आर्थिक अवस्था तथा पतिको मृत्यु भएका महिलामाथि हुने यौन हिंसाको संख्या बाक्लो छ । अझ पछिल्लो परिभाषाले त सहमति वेगरको वैवाहिक यौन सम्पर्कलाई बलात्कारको संज्ञा दिएको छ । यस आधारमा आफ्नै पतिबाट पनि ईच्छा विपरित भएको यौन कार्यलाई पनि हिंसाकै रुपमा लिन सकिन्छ । यसलाई कम गर्नका लागि सबैभन्दा पहिले यो वा त्यो नाममा डराएर घटना सार्वजनिक नगर्दा हिंसा गर्ने पक्षले बल पाउने भएकाले कानुनी सहयोग लिनु उत्तम विकल्प हो । अहिले महिलाका पक्षमा सरकारी नियम कानुन पनि धेरै लचक भएका छन् । अझ त्यस्ता महिलालाई आश्रयका साथमा कानुनी उपचार समेत व्यवस्था गर्ने गरिएकाले पनि महिलाले न्याय पाउन चाहेमा पहिलेभन्दा सहज छ । यदि कारबाहीका घटना बढ्दै गएमा हिंसा गर्नेको मनोबलमा पनि कमी आउन सक्छ । घरेलु हिंसाको प्रसंगमा कुरा गर्दा कतिपय महिलाहरु घरपरिवारकै महिला सदस्यबाट हिंसामा परेको कसैबाट छिपेको छैन । महिला अधिकारका चर्का कुरा गर्ने शासुबाटै बुहारी पीडित भएका घटना बेलाबखत सुनिने गर्छ । यस्तोमा उजुरी आएमा मात्र कारबाही गर्ने नभै सम्बन्धित निकायले आफैं खोजी गरेर कारबाही गर्ने परिपाटी बसाल्ने हो भने त्यस्ता घटना घटाउने पीडितको मनोबल कमजोर बन्न सक्छ । महिलामाथि हुने कुनै पनि हिंसाका पीडकलाई गरिने कानुनी कारबाहीलाई फौजदारी जत्तिकै कडा बनाउने अनि मिलापत्रका नाममा पैसा लेनदेन गरेर कुरा मिलाउने प्रवृत्ति अन्त्य मात्र गर्ने हो भने पनि हिंसाका घटनामा धेरै कमी आउने अनुमान गर्न सकिन्छ ।