सम्भावनामा लगानी

प्रदेश नम्बर ४ लाई धेरैले सम्भावना बोकेको र प्रशस्त श्रोत भएको प्रदेशका रुपमा लिने गरेका छन् । पर्यटनका प्रशस्त सम्पदा, प्रचुर जलश्रोत अनि विस्तार हुँदै गरेको औद्योगिक वातावरण यस प्रदेशका लागि उर्जा हो । बहुमतका साथ प्रदेशको कार्यकारी तहमा पुगेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कौशलमा नै यस प्रदेशको समृद्धि अड्किएको छ ।
हेर्दा मिलेको र सबै संयन्त्र बनेकोजस्तो नदेखिए पनि सक्षम नेतृत्व अनि इच्छाशक्ति देखाउने हो भने प्रदेश सरकारले चाँडै गति लिन सक्छ । यसका सम्भावनाहरुमा हुने लगानी अनि बन्ने नीतिले विकासका मार्ग कोर्न सक्छन् । प्रदेश सरकारको हातमा साँचो आए पछि अब अरुले गरेन भनेर छुट पाउन सकिनेअवस्था पनि छैन । 
यस्तोमा प्रदेश सरकारले साँच्चिकै क्रियाशिलता र कार्यक्षमता देखाउनु पर्छ । मुख्यमन्त्री गुरुङका अगाडि अब प्रदेशको प्राथमिकताको पहिचान अनि त्यसमा लगानी एउटा पहिलो कामका रुपमा खडा छ ।  केन्द्र सरकारले देशैभरको समग्रताबाट प्राथमिकता तोक्नुपथ्र्यो भने प्रदेशसँग त्यो बाध्यता छैन । प्रदेशभित्रका श्रोतको विश्लेषणका आधारमा सरकारका प्राथमिकता तोक्न सकिन्छ । उदाहरणका लागि यस क्षेत्रमा भएका पर्यटकीय सम्पदा, पर्यटनको अवस्था, आम्दानी आदिलाई हेर्दा पर्यटन एक ठूलो श्रोतका रुपमा देखिएको छ । सरकारले आम्दानी बढाउनका लागि पर्यटनलक्षित पूर्वाधार थप्ने, लगानीको वातावरण तयार पार्नेजस्ता कामलाई पहिलो प्राथमिकता बनाएर बजेट विनियोजन गर्ने हो भने अबको केही समयमा देखिने गरी परिवर्तन हुनसक्छ । जलश्रोतको परिचालन उर्जा र जलपर्यटन दुवैका लागि गर्न सकिन्छ । मध्यम गतिका सेती र मादीदेखि उच्च गतिका त्रिशुली, मस्र्याङदी र कालीगण्डकी नदीलाई बहुउद्देश्यीय हिसाबले उपयोग गरे प्रदेशको आम्दानी बढ्न सक्छ । अब काठमाडौंको प्रदेश सरकार पोखरा झरिसकेपछि मुख्यमन्त्री गुरुङका सामु कसैले गरिदिएन भनेर बस्न शंकाको छुट छैन ।