मगर सांस्कृतिक संग्रहालयको काम रोकियो

फागुन २७,दमौली । मगर समुदायको बाहुल्यता भएको जिल्लामा नमूना संग्रहालय बनाएर मगर संस्कृतिबारे जानकारी दिने प्रयास रकम नपुगेर अलपत्र परेको छ । व्यास नगरपालिकाका मगर समुदायको संस्था मगर समाज सुधार समितिले व्यास १ भादगाउँमा जग्गा खरिद गरेर मगर संग्रहालय निर्माणको थालनी गरेको थियो । 
भवनका लागि हालसम्म झण्डै एक करोड ३५ लाख खर्च भैसके पनि सकिए पछि काम बिचमै रोकिएको मगर समाज सुधार समिति व्यास नगरका अध्यक्ष पूर्णबहादुर थापाले बताए । ‘हामीले अझै ४० लाख खर्च लाग्ने अनुमान गरेका छौं,’ उनले भने । समितिले दाताको खोजी भैरहे पनि नभेटेपछि काम बिचमै छाड्नु परेको बताएको छ । संग्रहालयमा मगर संस्कृतिका भेषभुषा, घर तथा जिविकाका मुख्य सामग्रीहरु राख्ने तयारी गरिएको थियो । मगर समुदाय तथा जोकोहीका लागि पनि मगर संस्कृति अध्ययन गर्ने श्रोतकेन्द्रका रुपमा संग्रहालयलाई विकास गर्ने तयारी गरेर काम अघि बढाइएको थियो । तर मुख्य काम नै नसकिएकाले सबै काम ओझेलमा परेको मगर समुदायको गुनासो छ । 
तनहुँको ऋषिङ, घिरिङ, काहुँशिवपुर लगायत अधिकांशजसो दक्षिण तथा पश्चिमी भाग मगरबहुल ठानिन्छ । तर पछिल्ला पुस्ताले मगर संस्कृति भुल्न थाले पछि सधैंका लागि मगर संस्कृति चिनाउनका लागि संग्रहालय स्थापना गरिएको अध्यक्ष थापाले बताए । समितिमा आवद्ध सदस्यहरुले भवनका लागि आर्थिक तथा श्रमदानको सहयोग समेत गरेका 
 
थिए । संग्रहालयका लागि दुई तल्ला र एक तल्ला टिनको भवन निर्माण भएको छ । तर संग्रहालयका लागि सामग्री र तल्लाको तयारी काम पुरा हुन नसकेको थापाले बताए । 
 
रकम नपुगेकै कारण शौचालय  र संग्रहालयको काम पनि बाँकी छ । पर्यटन तथा संस्कृति मन्त्रालयबाट १० लाख तथा सांसद विकास कोषबाट दुई लाख रकम खर्च भएको थियो । संग्रहालयका लागि तत्कालीन सांसद रामचन्द्र पौडेल तथा शंकर भण्डारीले आफ्नो पूर्वाधार विकास कार्यक्रममार्फत रकम दिने घोषणा गरे पनि सर्वोच्चको आदेशपछि संग्रहालयका लागि थप रकम आउन सकेन । दुवैले कोषबाट दिने तय गरेको रकम प्राप्त भएको भए काम धेरै अघि बढ्ने भए पनि सर्वोच्चको आदेशपछि सरकारले तत्कालीन सांसदहरुले विनियोजन गरेका योजनाको काम रोकिदिएको छ । अब नव निर्वाचित प्रतिनिधि वा सरकारबाटै थप रकम पाउने आस समुदायको छ । मगर समुदायका अगुवाले संग्रहालयको कामका लागि सरकारले लगानी गर्नुपर्ने बताएका छन् । मगर समुदायका अगुवा एवं संस्कृतिका जानकार यमबहादुर आले संग्रहालय समयमै स्थापना हुनुपर्ने बताउँछन् । ‘ मगर बहुल क्षेत्रमा अरुलाई जानकारी दिनका लागि पनि संग्रहालय जरुरी छ,’ उनले भने,‘यसका लागि सरकारले हेर्ने पर्छ ।’