पत्रकार अनुपको नोष्टाल्जिया ‘वारीको डाँडामा म’

फागुन २७,दमौली । तनहुँ क्यामिन बर्लांचीका पत्रकार अनुप ओझा आफ्नो गायन प्रस्तुती लिएर श्रोतामाझ आएका छन् । काठमाडौं पोष्टमा झण्डै दशकदेखि लेखनीमा सक्रिय ओझाले पहिलो गीत ‘वारिको डाँडामा म’ लिएर श्रोतामाझ आएका छन् । आफू जन्मेको बर्लाचीं तथा आसपासको सेरोफेरो र बाल्यकालका सम्झना समेटेर आफ्नै शब्द श्रृजना गरेका अनुपले आवाज पनि आफै दिएका छन् । गीतले साढे दुईदशकअघिको सामाजिक परिवेश समेट्न खोजेको छ । ‘गीतमा जोकोहीले पनि आफ्नो कथा देख्न सक्छन्, अनुपले भने । 
लेखनीमा लामो समयदेख सक्रिय भए पनि गायनमा हात नहालेका अनुपको गीतको म्युजिक भिडियो अष्टूेलियाको चर्चित युट्युब समूह द नेक्स्टले तयार पारेको हो । गायनमा रुचि भएका ओझाले पहिलो प्रस्तुतीलाई श्रोता दर्शकले रुचाउने अपेक्षा गरे । शनिबार सार्वजनिक भिडियोमा अष्टूेलिया र नेपाल दुवैतिरका दृश्य समावेश छन् । 
द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले अभिनय गरेको भिडियोमा पहिलेको बाल्यकाल र दुई साथीको मित्रता झल्काउन प्रशस्त मेहनत गरिएको छ । 
गायक ओझा आफैले पनि भिडियोमा अभिनय गरेका छन् ।
यसअघि नै चर्चित ‘जालमा,’ ‘मै नाचेँ छमछमी,’ ‘फन्टास्टिक,’ ‘मीठो,’ ‘यो के भयो’ जस्ता लाखौँ भ्युज पाएका म्युजिक भिडियो बनाइसकेका प्रदीपले अनुपको गीतमा बनाएको भिडियोबाट सन्तुष्टि मिलेको बताए । ‘बाल्यकालका साथीलाई मिस गर्ने जोकोहीलाई पनि भिडियो आफ्नै जस्तो लाग्न सक्छ,’ उनल भने ।