अलपत्र बालिकाको उद्धार

 फागुन २९ दमौली । बालकल्याण समिति तनहुँले एक अलपत्र बहिरा बालिकाको उद्धार गरेको छ । तनहुँ प्रहरीले दमौली बजारमा गत साता बेवारिसे अवस्थामा फेला पारेको ११ वर्षिया ती बालिकालाई समितिको पहलमा उद्धार गरिएको हो । बालिकाको ठेगाना पनि पत्ता नलागेको र कोही अभिभावक सम्पर्कमा नआएको भन्दै ती बालिकालाई बाल हेल्पलाईन काठमाडौंमा पठनपाठन र व्यवस्थापनका लागि पठाइएको बालकल्याण समितिकी कर्मचारी मुना तामाङले जानकारी दिइन् ।
समितिकै कर्मचारीले ती बालिकाको सफाई गरेर हेल्पलाइनको जिम्मा लगाएको थियो । अब उनको पठनपाठन तथा बसोबासको व्यवस्था हेल्पलाइनले नै गर्ने बताइएको छ । यसअघि पनि बालकल्याणले बेवारिसे अवस्थामा फेला परेका यस्ता बालबालिकाहरुलाई हेल्पलाईनमा जिम्मा लगाउने गरेको छ ।