किशोर किशोरीलाई पारिवारिक निगरानी

तनहुँ सदरमुकाम दमौली तथा आसपासका क्षेत्रमा हुने गरेका झैझगडा तथा झडपका घटनाहरुमा युवा अझ त्यो भन्दा बढी किशोर किशोरीहरुको संलग्नता बढी देखिएको छ । हेर्दा साना लाग्ने तर हिंसात्मक त्यस्ता झडपमा संलग्नहरुविरुद्ध तनहुँ प्रहरीले देखाएको सक्रियता र सतर्कता प्रशंसनीय छ । तर यस्ता घटना घटिरहनुमा दोषी को भन्ने पाटोमा बहस हुनु जरुरी देखिएको छ । खासगरी यस्ता घटनामा कलिला उमेरका किशोर किशोरीहरुको संलग्नता देखिनुमा उनीहरुले कस्तो वातावरण परिवारबाट पाइरहेका छन् ? उनीहरुका गतिविधिमा अभिभावकको नजर क कि छैन ? उनीहरुको संगत कस्तो छ ? अभिभावकसँग उनीहरुको दूरी कस्तो छ ? यी विषयका बारेमा अभिभावकले गम्भीर बनेर आफैलाई प्रश्न गर्ने बेला आएको छ । किनभने लहड र आवेशमा आएर हिंस्रक घटनामा संलग्न बन्ने गरेका आफ्ना छोराछोरीको बानी र व्यवहारबारे समयमै थाहा पाएमा अभिभावकले उनीहरुको गलत बाटो रोक्न सक्छन् । उनीहरुको पठनपाठन, रुचि र संगतबारे जानकारी राख्ने र कदाचित गलत बाटोमा गएको आभाष भएमा शुरुकै चरणमा रोक्न सकिएमा त्यो उपयोगी बन्न सक्छ । तर बाटो बिराइहालेपछि त्यो अवस्था नरहन पनि सक्छ । छोराछोरीले माग्ने पैसा के कस्तो कार्यमा खर्च हुन्छ अनि उनीहरु घर ढिला आउँदा कता भुल्छन्जस्ता सामान्य जानकारी समेत अभिभावकले राख्न सके आफ्ना छोराछोरीको बाटो उनीहरुलाई थाहा हुन्छ । किनभने जो अभिभावकले आफ्ना छोराछोरीका यी जानकारी हासिल गर्दैनन्, उनीहरु नै खराब काममा संलग्न भएको पाइएको छ । कुनै गलत काममा लाग्दा हुने वेफाइदाबारे बेखबर उनीहरुबाट हुने गलत कामको भागिदार समेत बन्नुपर्ने भएकाले अभिभावकहरुले समयमै सचेतता अपनाउनु जरुरी छ । यति मात्र हुन सके दमौली र आसपासका हिंश्रक झडपका आधाभन्दा बढी घटना रोक्न सकिन्छ ।