दमौली महोत्सवमा गायक जमघट

         फागुन २९,दमौली ।दमौलीमा जारी तेश्रो दमौली महोत्सवमा मंगलबार चर्चित गायक गायिकाले गायन प्रस्तुती दिएका छन् । बीपी वनवाटिका खेल मैदानमा सञ्चालित महोत्सवमा गायक शिव परियार, गायिका प्रीति आले तथा गायक बसन्त विकले गायन प्रस्तुती दिएका थिए । दिउँसोपख स्टेजमा उत्रेका गायक बसन्तले आफ्नो चलेको ‘मुना मुनामा’ र ‘ज्यान माया’ तथा रोईला भाका समेत पस्किएका थिए । दमौलीकै गायक बसन्तले प्रस्तुती दिंदा दर्शक तथा श्रोताको भरपुर साथ पाएका थिए ।
विकपछि गायनमा उत्रिएकी प्रीति आलेले चलेको ‘बाबरी’ पस्कँदा दर्शकको साथ पाइन् । उनले यसका साथै अन्य गायन समेत पस्किएकी थिइन् । महोत्सवमा साँझपख गायनमा झुल्किएका गायक शिव परियारले आफ्ना चलेका गीतहरु पस्किएका थिए । महोत्सवको स्टेजमा लोकदोहोरी प्रतियोगिता समेत राखिएको थियो । महोत्सवमा बुधबार चर्चित आधुनिक गायक सुनिल गिरी, कृष्ण सुवेदी, ज्योती लोहोनीलगायतको गायन प्रस्तुती रहने महोत्सवका प्रवक्ता दधिराज घिमिरेले जानकारी दिए । आयोजकले दमौली महोत्सवमा चर्चित गायक गायिकालाई भित्र्याइरहेको छ । महोत्सवका मुल संयोजक राजकुमार श्रेष्ठ ‘राकु’ले महोत्सवमा दर्शकको सहभागीता वृद्धि हुँदै गैरहेको बताए ।
महोत्सव परिसरमा राखिएका स्टलहरुमा पनि उल्लेख्य व्यापार भैरहेको छ । महोत्सवमा दर्शकहरुको संख्या अब थप वृद्धि हुँदै जाने आयोजकको अपेक्षा छ ।