न्याय दिन जनप्रतिनिधिलाई तालिम

 
 फागुन २९ दमौली । तनहुँका स्थानीय तहका न्यायिक समिति हेर्ने प्रतिनिधिलाई तालिम थालिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शुरु तालिम दुई दिनसम्म चल्नेछ । तालिमको मंगलबार उद्घाटन गर्दै मुख्य जिल्ला न्यायाधिश अर्जुन कोईरालाले सिद्धान्त हेरेर न्याय सम्पादन हुनुपर्ने बताए । उनले स्थानीय तहलाई न्याय सम्पादनमा कठिनाई परे सघाउनका लागि अदालत तयार रहेको बताए । उनले संविधानले दिएको जिम्मेवारीलाई न्यायिक ढंगले सम्पादनका लागि स्थानीय तह सक्षम हुने विश्वास गरे ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानले दिएको न्यायिक सम्पादनको अधिकार सफलतापूर्वक स्थानीय तहबाट सम्पादनका लागि कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  उनले जनताको मत पाएर आएकाले कसैले उनीहरुको न्यायमा औंला ठड्याउने अवस्था नआउने कामना गरे ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रयोगमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले न्याय सम्पादन गर्दा निर्णय चिरस्थायी हुनुपर्ने बताए । 
जिल्ला समन्वय अधिकारी अञ्जन न्यौपानेले संघीय कानून बने पनि नियमावली नआउँदा भएको कठिनाई अब हट्ने विश्वास व्यक्त गरे ।दुई दिनसम्म चल्ने तालिममा स्थानीय तहका उपाध्यक्ष तथा उप प्रमुख तथा न्यायिक समितिका पदाधिकारीहरु सहभागी थिए ।