हवाई सुरक्षा बढाऔं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बांग्ला एयरको विमान दुर्घटनामा परेलगत्तै देशमा हवाई सुरक्षाको प्रश्न उठेको छ । प्राविधिक र व्यवस्थापकीय पक्ष निकै नै सुदृढ मानिनुपर्ने भए पनि नेपालमा हवाई दुर्घटना तुलनात्मक रुपमा बढी हुने गरेका छन् । हवाई सुरक्षा कमजोर भएको भन्दै नेपालका विमानसेवालाई युरोपियन युनियनले कालोसूचीमा समेत राखिदिएका छन् । यस्तो अवस्थामा विदेशी वायुसेवाको विमान नेपालमै आएर दुर्घटना हुँदा यसले नेपालको हवाई सुरक्षा प्रविधिबारे फेरि विश्वको ध्यान खिचेको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ४९ जनाको ज्यान गएसँगै नेपालको एयर ट्राफिक कन्ट्रोल कक्षबाट दिइएको सुचनाको द्विविधा तथा असामन्जस्य त छँदैछ, यसका अलावा नेपालको विमानस्थलको स्थिती पनि सुरक्षा चिन्ताको विषय बनेको छ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलको शीर्ष १० सूचीमा पर्दछ । यसले पनि नेपालको हवाई सुरक्षाबारे सन्देह पैदा गर्नेलाई ठाउँ मिलेको छ । नेपालको नागरिक उड्डयन प्राधिकरणले यस्ता पक्षमा समयमै आवश्यक सजगता अपनाएर आवश्यक सुधार गरेर भावी दिनमा दुर्घटना घटाउँदै सुरक्षाको अवस्था बढाउनु जरुरी छ ।