सार्वजनिक सवारीमा पकेट मार्ने फन्दामा

 फागुन ३०, दमौली । दिनहुँजसो सार्वजनिक सवारीका यात्रुले लुटिएको गुनासो गर्न थाले पछि तनहुँ प्रहरीले घटनामा संलग्न दुईलाई पक्रेको छ । 
यसरी पक्राउ पर्नेमा बाग्लुङ बरेङ गाँउपालिका वडा नम्बर ६ का ३४ वर्षिय हर्कबहादुर थापा तथा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ थप्रेक निवासी ३० वर्षका सुरज गुरुङ छन् ।
यात्रुले अनावश्यक सास्ती दिने तथा पकेट मार्ने गरिएको गुनासो प्रहरीसँग गर्दै आएका थिए । दमौली तथा तनहुँका विभिन्न भागमा चल्ने लामो दुरीका सवारी साधनमा यस्तो समस्या देखिएपछि प्रहरीले निगरानी बढाएको थियो । त्यसक्रममा मंगलबार म्याग्दे गाउँपालिका वडा नं.४ थर्पु स्थित पृथ्वीराजमार्गमा धादिङबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ४६६८ नम्बरको यात्रुवाहक बसमा सवार धादिङ निलकण्ठ नगरपालिकाकी राधा कोईरालाको ब्यागको चेन खोली लुट्न लाग्दै गरेका बेला ती दुई पक्राउ परेका हुन् । बसका कण्डक्टरको सहायतामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । पक्राउ दुवैविरुद्ध तनहुँ प्रहरीले सार्वजनिक अपराध मुद्दा दायर गरेको छ ।