पूर्वराजा दमौली आउने सम्भावना

 
 फागुन ३० दमौली । पूर्वराजा ज्ञानेन्द्र शाह दमौलीस्थित १८ महिने अखण्डकीर्तनमा आउने सम्भावना बढेको छ । वेद अनुयायी प्रतिष्ठान र व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर संरक्षण समितिको सक्रियतामा सञ्चालित अखण्डकीर्तनको आगामी वैशाख २ गते हुने समापन कार्यक्रममा भारतस्थित बद्रीनाथबाट नेपालकै पहिलो महिला शंकराचार्य हिमानन्द गिरीसमेत आउँदैछन् । 
देशभरका धार्मिक मठ मन्दिरमा नियमित भ्रमण गर्ने गरेका पूर्व राजा शाह विश्वभरका हिन्दूहरुको तीर्थस्थल बनाउनका लागि सञ्चालित अखण्डकीर्तनको समापनमा पनि आउने सम्भावना रहेको निर्मलनिवास निकट श्रोतले जनाएको छ । 
यद्यपि यसको औपचारिक पुष्टि भने भैसकेको छैन । ‘उहाँ आउने सम्भावनालाई नकार्न सकिन्न,’ प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले भने,‘तर यसबारेमा औपचारिक कुरा अघि बढिसकेको छैन ।’ उनले यसबारेमा केही दिनमा मात्र बताउन सक्ने उल्लेख गरे ।
तर यसअघि नै अखण्डकीर्तनमा पूर्व युवराज्ञी हिमानी सपरिवार आइसकेकाले समापन समारोहमा हुने धार्मिक जमघटलाई पूर्वराजाले उपयोग गर्नसक्ने सम्भावना नै बढी छ । यसमा आयोजकको पहुँच वा सम्बन्धले पनि भूमिका खेल्न सक्ने जानकारहरु बताउँछन् । अखण्डकीर्तनको समापनमा भारतका ठूला विद्वानहरुलाई निम्ता गरिएकाले उनीहरुले यस क्षेत्रको अवस्थाबारे जानकारी लिन आफ्ना सहयोगी पठाउन थालेका छन् ।
एक सातायता भारतीय महन्थहरुको दैनिकजसो आवतजावत बढ्न थालेकाले व्यास पराशर अन्न क्षेत्रमा रौनक देखिएको छ । यसलाई काफ्लेले पनि स्विकारेका छन् । ‘दैनिकजसो यस ठाउँको अवस्थाको निरीक्षणका लागि टोली आउन थालेका छन्,’ उनले भने,‘यसलाई महन्थहरु यहाँ आउने तयारीका रुपमा लिन सकिन्छ ।’
हालसम्म अयोध्या, कान्जी कामकोटी र कामाक्ष पीठले आफ्ना प्रतिनिधि व्यास क्षेत्रमा पठाइसकेका छन् ।