दमौलीमा अघोषित लोडसेडिङ हावा चल्नासाथ लाइन झ्याप

        पवन पौडेल फागुन ३० ,दमौली । सरकारले देशलाई लोडसेडिङमुक्त घोषणा गरेको छ । भारतबाट नै खरिद गरेर भए पनि सरकारले देशलाई लोडसेडिङको मार पर्न नदिएको लामै समय भैसक्यो । तर दमौली भने यसको अपवाद बनिरहेको छ । आकाशमा बादल देखिनासाथ अनि हावाहुरी चल्नासाथ दमौलीमा बत्ती जानु सामान्य नै बन्न थालेको छ । लोडसेडिङ हटेको भनेर व्यवसायीले भएको इन्भर्टर पनि बेचे ।
कतिपयले बिग्रेको इन्भर्टर नबनाइकनै काम चलाएका छन् । तर उनीहरुका लागि यसले सास्ती दिएको छ । दमौली न्यू रोडका व्यवसायी बाबुराम श्रेष्ठ भन्छन्,‘लाइन जान थाले पछि चौपट भएको छ ।’ ‘पहिला लाइन जाँदा इन्भर्टर थियो । 
आजकल जान्न भनेर ढुक्क भएर बस्छौं,’ उनले भने,‘तर आजकल काम नै रोकिन थालेको छ ।’ सानो हावाहुरी चल्दा वा विद्युत मर्मतका नाममा छिनछिनमा लाइन जाने र आउने गर्नाले विद्युत उपभोक्ता आश्वस्त हुन सकिरहेका छैनन् । ‘कि बरु लाइन जाने समय तोकिदिनुप¥यो हैन भने यसो गर्नु भएन,’ डांग्रेखोल्सीका एक मोबाईल पसलेले भने । विद्युत अवरुद्ध भए पछि धेरैपल्ट विद्युत प्राधिकरणको शव स्टेशनमा कारण सोध्दा सधैं उस्तै जवाफ आउने गरेको छ, ‘ट्रिप धानेन ।’ यसैगरी मर्मतका लागि विद्युत रोकेको पनि उनीहरुको जवाफ रहने गरेको छ । शव स्टेशनका प्रमुख धनबहादुर जिसिले प्रसारण लाइनको सञ्जाल टाढासम्म पुगेकाले कहिं कतै सानो समस्या आए पनि सबै क्षेत्रमा प्रभाव पर्ने बताए । ‘दमौली फिडरको चाप नघटाउँदासम्म समस्या उस्तै हो,’ उनले भने । हाल दमौली फिडरबाट एउटै प्रसारण लाइनको विद्युत भिरकोटदेखि तनहुँसुरसम्म पुगेको छ । यसले गर्दा भिरकोटमा हावाहुरी आएर तारमा कुनै वस्तु परेमा वा केही समस्या आएमा दमौलीमा पनि लाइन जाने गरेको छ । ‘हामीले मर्मतमा समय लाग्ने अवस्थामा अन्यत्रको लाइन काटेर भए पनि दमौलीका लागि विद्युत दिएका छौं,’ जिसिले भने,‘तर यसको समाधान लाइन  छुट्याउनु नै हो ।’
झण्डै एक करोड खर्चन सकिए बजारका लागि मात्र छुट्टै विद्युत प्रणाली कायम गर्न सकिने तर त्यसका लागि तार समेत टाँग्नुपर्ने भएकाले यो सहज भने छैन ।